काठमाडौं, ३१ असार। बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले आफ्नो तेस्रो खेल आज श्रीलंकासँग खेल्दै छ ।
खेल नेपाली समयअनुसार साँझ पौने ७ बजेदेखि बसुन्धरा किङ्स एरेनामा शुरु हुनेछ ।
नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार भुटानलाई ६ –१ गोलअन्तरले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३–२ गोलअन्तरले पराजित भएको थियो ।
श्रीलंकाले पहिलो खेलमा बंगलादेशसँग ९–१ को फराकिलो हार बेहोरेको थियो । दोस्रो खेलमा भुटानसँग ५–० को हार बेहोरेको थियो ।
अब गोलअन्तरमा आफुलाई बलियो बनाएर बाँकी सबै खेल जितेमा नेपालले उपाधि जित्न सक्छ ।
प्रतियोगितामा बंगलादेश २ खेलमा ६ अंकसहित शीर्षस्थानमा छ भने नेपाल र भुटानको समान ३ अंक छ । गोलअन्तरमा अघि रहेको नेपाल दोस्रोमा छ ।
चार टोली सहभागी च्याम्पियनसिप डबल राउण्ड रोबिन फर्म्याटमा खेलाइएको छ । खेलको अन्तिममा धेरै अंक जोडेर शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।












