काठमाण्डौं, १५ असार । एसीसी १६ वर्षमुनिको इस्ट जोन कप प्रतियोगितामा नेपालले इन्डोनेसियालाई ३ सय ७० रनले हराएको छ ।
नेपालले दिएको ४ सय २१ रनको लक्ष्य पछ्याएको इन्डोनेसिया २४ ओभर तीन बलमा ५० रनमै अलआउट भयो । इन्डोनेसियाका कभिन नीरज चड्डाले सबैभन्दा धेरै १५ रन बनाए । नेपालका कप्तान विपिनप्रसाद शर्माले ६ विकेट लिए ।
यसअघि मलेशियाको सेलाङ्गोर टर्फ क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा पाँच विकेट गुमाएर चार सय २० रन बनायो । नेपालका प्रसिद्ध जैशीले शतक बनाए । प्रसिद्ध एक सय १४ बलमा एक सय ३२ रन बनाएर आउट भए । यस्तै रौनक श्रीवास्तवले ८८, परिमार्जन यादवले ७१ र जोय थापाले ५७ रन बनाए । इन्डोनेसियाका केतुत दर्मा पुत्राले दुई विकेट लिए ।
यो नेपालको उमेर समूहदेखि राष्ट्रिय टोलीले ५० ओभरको खेलमा बनाएको सबैभन्दा धेरै रन हो । यो जीतसँगै नेपाल लगातार तेस्रो जीतसहित समूहको शीर्ष स्थानमा उक्लिएको छ ।
नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ६ विकेट र दोस्रो खेलमा जापानलाई नौ विकेटले हराएको थियो । अब नेपालले समूह चरणको अन्तिम खेलमा पर्सि भूटानसँग खेल्नेछ ।
१६ वर्षमुनिको इस्ट जोन कपमा १० वटा टोली सहभागी छन् ।












