खानेपानीको क्षेत्रमा बिनियोजित बजेटमा बिभेद भएको भन्ने आरोप जायज होईन :मन्त्री यादव

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ९ असार । खानेपानी मन्त्री प्रदीप यादवले सन् २०३० सम्म ९० प्रतिशत जनसंख्यामा सुरक्षित खानेपानीको पहुँच पुराउने सरकारको योजना रहेको बताएका छन ।

सोमबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयमाथि बिनियोजित बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदैं मन्त्री यादवले उपलब्ध स्रोत साधनको प्रयोग गरी २०३० सम्म ९० प्रतिशत जनसंख्यामा सुरक्षित खानेपानीको पहुँच पुराउने सरकारको योजना रहेको बताएका हुन ।

खानेपानीको क्षेत्रमा बिनियोजित बजेटमा बिभेद भएको भन्ने आरोप जायज नभएको भन्दै मन्त्री यादवले देशका सवै स्थानमा स्वच्छ खानेपानी उपलव्ध गराउने गरि मन्त्रालय अघि बढेको जिकिर गरे ।

संघीयताको मर्म अनुसार तीनै तहको सरकारको समन्वयमा खानेपानी सहज रुपमा उपलब्ध गराउने उनले बताए । उनले सन्तोषजनक रुपमा खानेपानी वितरण गर्ने योजनामा अझै पनि रकम अभाव रहेको गुनासो गरे ।

त्यस्तै मन्त्री यादवले काठमाडौं उपत्यकामा बाह्रै महिना खानेपानी उपलव्ध गराउन शिवपुरी निकुञ्जभित्र रहेको बागमति खोलाबाट पानी ल्याउन खोज्दा निकुञ्जले रोकेको बताए । खानेपानी मन्त्रालयलाई खानेपानीको पाइप राख्न नदिने निकुञ्जले निजि क्षेत्रलाई भने विना रोकतोक पाइप राख्न दिएको भन्दै उनले वन मन्त्रालयको ध्यानाकर्षण गराए ।

बजेटको सीमाभित्र रही मन्त्रालयले बहुवर्षीय ठेक्कामार्फत कार्यान्वयन भइरहेको आयोजनाहरुलाई पहिलो प्राथमिकतामा राखेर बजेट बाँडफाँड गरिएको मन्त्री यादवको दावी छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्