काठमाण्डौं, ८ असार । क्यानडा आउँदो वर्ष हुने आईसीसी टी–२० विश्वकपमा छनोट भएको छ । अमेरिका क्षेत्रीय छनोटमा बहामासलाई हराउँदै क्यानडा भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप २०२६ मा छनोट भएको हो ।
बाहमासले दिएको ५८ रनको लक्ष्य क्यानडाले ५ ओभर ३ बलमा ३ विकेट गुमाएर भेटायो । क्यानडाका दिलप्रीत बाजवाले नटआउट ३६ रन बनाए । बहामासका केर्भोन हिन्दसले २ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बहामास १९ ओभर ५ बलमा ५७ रनमा अलआउट भयो । बहामासका जभेले गलीमोरेले सबैभन्दा धेरै नटआउट १४ रन बनाए । क्यानडाका कलीम सना र शिवम् शर्माले ३र३ विकेट लिए । क्यानडा लगातार दोस्रो पटक टी–२० विश्वकपमा छनोट भएको हो ।
टी–२० विश्वकपमा १२ वटा टोली सोझै छनोट भइसकेका छन् । आयोजक भारत र श्रीलङ्कासहित अफगानिस्तान, अस्ट्रेलिया, बङ्गलादेश, इङ्गल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका, वेस्ट इन्डिज, आयरल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तान प्रतियोगितामा सोझै छनोट भएका हुन् ।












