रास्वपा र राप्रपाको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३ असार । रास्वपा र राप्रपाको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।मंगलबार प्रतिनिधिसभा बैठक सुरु हुने बितिकै दुई दलका सांसदहरु उठेर बिरोध जनाएका हुन् ।

भिजिट भिसा प्रकरणको छानविनका लागि उच्चस्तरीय समिति गठन हुनुपर्ने माग राख्दै रास्वपा र राप्रपाले निरन्तर सदनमा विरोध जनाइरहेका छन् । रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद चन्दा कार्कीलाई बोल्न समय उपलव्ध गराएका थिए ।

सांसद कार्कीले भिजिट भिसा प्रकरणमा प्रशासनको मिलोमलोमा मानवतस्करी भइरहेकाले सदनमा निरन्तर आवाज उठाइरहेको बताए । यस्तो मुद्दामा सरकार किन मौन बसेको हो भन्दै उनले प्रश्न गरे । उनले आफुहरुले जायज माग राख्दा सरकारले रोष्टमबाट धम्काउने काम गरेको जिकिर गरे ।

त्यसपछि सभामुख घिमिरेले कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिदा रास्वपाका सांसदहरुले वेल घेराउ गरेका थिए । कांग्रेस सांसद घिमिरेले रास्वपाका सांसदहरुले अमर्यादीत काम गरेको भन्दै आपत्ति जनाए । अमर्यादीत काम गर्ने सांसदलाई बैठकबाट निष्कासन गर्नुपर्ने उनले बताए ।

रास्वपा र राप्रपाले निरन्तर विरोध जनाएपछि सभामुख घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्