काठमाडौँ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदमा जारी विरोध जारी राख्ने घोषणा गरेका छन्।
आइतबार सिंहदरबारमा सभामुख देवराज घिमिरेद्वारा आयोजित प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकहरूको बैठकमा यी दुई दलले आफ्नो अडान स्पष्ट पारेका हुन्। सभामुखले संसदको कार्यतालिका र आगामी बैठकको तयारीबारे छलफल गर्न बैठक बोलाएका थिए।
जेठ १३ गतेदेखि संसदमा भइरहेको अवरोधका कारण बजेटमाथिको छलफल प्रभावित हुँदै आएको छ। संसद सञ्चालनमा देखिएको अवरोध हटाउन सभामुखले पहलस्वरूप बैठक आह्वान गरेका थिए।
उता, भिजिट भिसा प्रकरणसम्बन्धी दुई बुँदे सहमतिपछि सत्तारूढ नेकपा ९माओवादी केन्द्र० ले भने संसदमा अवरोध नगर्ने जनाएको छ।
यसैबीच, संसद् बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ। तर रास्वपा र राप्रपाको विरोध कायम रहेकाले संसद पुनः अवरुद्ध हुने संकेत देखिएको छ।











