भीमदत्त नगरपालिका क्षेत्रभित्रका खोला तथा नदीनालाबाट नदीजन्य पदार्थ संकलन, उत्खनन् बन्द गरिने भएको छ। जेठपछि नदीजन्य पदार्थ, संकलन र उत्खनन् बन्द गरिने भएको हो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमका अनुसार ढुंगा, बालुवा, गिटी, उत्खनन् बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ (पहिलो संशोधन २०७९) बमोजिम प्रत्येक वर्षको असार १ देखि भदौसम्म नदीजन्य पदार्थ उत्खनन् गर्न नपाइने व्यवस्था छ।
‘सोही कानुनी व्यवस्थाअनुसार नदीजन्य पदार्थ संकलन र उत्खनन् कार्य बन्द गरिने भएको हो’, बमले भने, ‘उत्खनन् बन्द रहेको अवस्थामा संकलन गरेको पाइए प्रचलित कानुनअनुसार हदैसम्मको कारबाही हुनेछ।’
नगरपालिका क्षेत्रमा महाकाली नदी, चुरे क्षेत्रका खोलाबाट नदीजन्य पदार्थ सङकलन र उत्खननको कार्य हुने गर्दछ।












