२० जेठ, काठमाडौं । बागलुङकाे गलकोटस्थित संसारकोटमा पूर्वाधार निर्माणले गति लिएको छ। भग्नावशेष अवस्थामा रहेका संसारकोट दरबार क्षेत्रमा पर्खाल र भगवती मन्दिर पुनर्निर्माण सुरु गरिएको हाे भने सत्तल र पदमार्गलगायत पूर्वाधार निर्माण जारी छन्।
संसारकोटमा दुई महिनायता मन्दिरसहितका पूर्वाधार निर्माण भइरहेको छ। बागलुङ नगरपालिका–७ मा पर्ने संसारकोट पछिल्लो समय धार्मिक पर्यटकलाई पदमार्गमार्फत त्यहाँ पुर्याउन थालिएको छ। संसारकोट दरबारको पर्खाल पुनर्निर्माण तथा भगवती मन्दिर निर्माणमा खटिएका कामदार दुई महिनायता जङ्गलमै बास बसेर पूर्वाधार निर्माणमा खटिएका छन्।
नगरपालिकाले संसारकोटलाई महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा चिनाउन २०७७ सालबाट विभिन्न काम सुरु गरेको थियो। समुद्री सतहबाट दुई हजार ४९० मिटरको उचाइमा रहेको संसारकोटमा अहिले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विनियोजन गरेको ३६ लाख बजेटबाट पुनर्निर्माण भइरहेको छ।
निर्माण आयोजना उपभोक्ता समितिका अध्यक्ष केशवबहादुर कार्कीका अनुसार अहिलेसम्म भग्नावशेष दरबारको पर्खाल पुनःनिर्माण, संसारकोट पुग्ने पदमार्ग, सत्तललगायत संरचनामा एक करोड बराबरको पूर्वाधार निर्माण भइसकेको छ।
२०७७ सालमा पुरातात्व विभागले रु ३० लाख बजेटमा दरबारको पर्खाललाई पुनःनिर्माण थालिएकामा २०७९ सालमा २० लाख बजेट थप विनियोजन गरिएको थियो। विभागले ढुङ्गा कुँदेर कलात्मक ढङ्गले ५० लाख बजेटबाट ५० मिटर ढुङ्गाको मात्र पर्खाल लगाइएको थियो। अहिले पर्यटन मन्त्रालयको रकमबाट २० मिटर पर्खाल थप निर्माण र भगवतीको मन्दिर बनिरहेको छ, मन्दिर ढुङ्गा र काठको मात्र प्रयोग गरी निर्माण गरिएको छ।











