५३ लाख बढीमा लाग्यो बागवानीको आँप ठेक्का, गत वर्षभन्दा दोब्बर मूल्य 

खबर बुक
  • ख-
  • ख
  • ख+

१२ जेठ, सर्लाही। उष्ण प्रदेशीय बागवानी केन्द्र सर्लाही नवलपुरले ५३ लाख बढी मूल्यमा यस वर्षको लागि आँप बिक्री ठेक्का लगाएको छ। केन्द्रले लालबन्दी नगरपालिका–२ बागवानीमा उत्पादित आँप बिक्रीको लागि ५३ लाख ७१ हजारमा ठेक्का लगाएको हो।

दोस्रो पटक आँप बिक्रीका लागि निकालेको सूचनाअनुसार सुरज निर्माण सेवा लालबन्दी–१, पुनर्वासले उक्त मूल्यमा ठेक्का सकारेको केन्द्रका निमित्त वरिष्ठ बागवानी विकास अधिकृत रामकुमार यादवले जानकारी दिए। 

निमित्त प्रमुख यादवका अनुसार यस वर्ष आँप गत वर्षको तुलनामा दुई गुणा बढी मूल्यमा ठेक्का लागेको हो  गत वर्ष रु २१ लाख १५ हजारमा मात्र ठेक्का लागेको थियो। ‘‘गत वर्ष अफ सिजन थियो। त्यसैले आँप निकै कम फल्यो। ठेक्का कम रकममा लागेको हो’, निमित्त प्रमुख यादवले भने।

यस वर्ष सिजन भएकाले धेरै फलेको उनको भनाइ छ। उत्पादन बढेकाले बागवानीले ७१ लाख ११ हजार १२१ बिक्री मूल्य राखेर गत वैशाख १६ मा प्रथम पटक बिक्री सूचना निकालेको थियो।

तर, १५ दिनको म्याद अवधिमा आँप ठेक्काको निवेदन नपरेको उनले बताए। त्यसपछि केन्द्रले फेरि गत जेठ १ मा ५१ लाख ७५ हजार मूल्य राखेर दोस्रो पटक सात दिनको लागि सूचना निकालेको हो।

ठेक्का लगाउने समयमा हावाहुरीले आँपमा क्षति गरेकाले ठेक्का मूल्य घटाउनुपरेको केन्द्रका निमित्त प्रमुख यादवको भनाइ छ। केन्द्रले अहिलेसम्मकै धेरै आर्थिक वर्ष २०७९/८० मा एक करोड ११ लाखमा आँप बिक्री गरेको थियो। यहाँ करिब एक सय बिघा क्षेत्रफलमा आँपका ६ हजार वटा रुख छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्