२३ वैशाख, काठमाडौं ।सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार वैशाख २२ सम्म ६७ लाख ३९ लाख २२४ जनाले डिम्याट खाता खोलेका छन्। हालसम्म मेरो सेयर लिने लगानीकर्ताको संख्या ५८ लाख २ हजार ३४० जना पुगेको सीडीएस एन्ड क्लियरिङले विवरण सार्वजनिक गरेको छ।
यीमध्ये सक्रिय मेरो सेयर प्रयोगकर्ता ३९ लाख ९२ हजार १५ जना छन्। यस्तै, सीआस्वा सेवा दिने कम्पनीको संख्या ४३ पुगेको छ। अहिलेसम्म १३ अर्ब ९३ करोड बढी कित्ता सेयर डिम्याट भइसकेको विवरणमा उल्लेख छ। ९२ वटा कम्पनी क्लियरिङ सदस्य छन्।
सीडीएस एन्ड क्लियरिङका अनुसार हाल एक जनाले दुईटासम्म डिम्याट खाता सञ्चालन गर्न पाउने व्यवस्था छ।
नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार दोस्रो बजारका लगानीकर्तामध्ये ३६.८६ प्रतिशत लगानीकर्ताले भौतिक रुपमै सेयर कारोबार गर्छन्। हालसम्म दोस्रो बजारमा कारोबार गर्नको लागि ४१ लाख ८ हजार ८ सय ४८ जना लगानीकर्ताले ब्रोकरमा खाता खोलेका छन्।
यसमध्ये १५ लाख १४ हजार ५ सय ९ जना लगानीकर्ताले भौतिक रुपमा मात्रै सेयर कारोबार गर्दै आएका छन्। बाँकी ६३.१४ प्रतिशत अर्थात् २५ लाख ९४ हजार ३ सय ३९ जना लगानीकर्ताले अनलाइन (टीएमएस)मार्फत सेयर कारोबार गर्दै आएका छन्।
दोस्रो बजारमा ९ हजार २७६ संस्थागत लगानीकर्ताले कारोबार गर्दै आएका छन्। ४१ लाख ८ हजार ८४८ लगानीकर्ताले दोस्रो बजारमा कारोबार गर्न खाता खोले पनि पछिल्लो समय २४ लाख १ हजार ३७७ जना मात्रै सक्रिय रहेको नेप्सेले जनाएको छ।











