आज ‘स्वस्थ चिया, दिगो बजार, समृद्ध नेपालको आधार’ नारासहित २९औं राष्ट्रिय चिया दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले पुल्चोकको हरिहरभवनमा चिया प्रदर्शनी गर्दै छ। नेपाली चियालाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिन लागेको हो।
विभिन्न जिल्लामा उत्पादन हुने चिया एकै ठाउँमा प्रदर्शन गरी किसान, मजदुर, सहकारी, उद्योगी/व्यवसायी, सरोकार भएका संघसंस्थाका प्रतिनिधिबीच छलफल गरिने बोर्डले जनाएको छ।
बोर्डका अनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्म ३ अर्ब ५७ करोड रुपैयाँ बराबरको चिया निर्यात भएको छ। बोर्डले यस वर्ष चिया निर्यात चार अर्ब ५० करोड हाराहारी पुग्ने अनुमान गरेको छ।
नेपालको चिया क्षेत्रले करिब ६० हजार रोजगारी सिर्जना गरेको, १७१ ‘टी स्टेट’ र साना मझौला गरी १२० वटा चिया प्रशोधन केन्द्र रहेको बोर्डका अधिकृत चन्द्र पुरीले जानकारी दिए। नेपालमा १५ हजार बढी चिया किसान छन्।











