काठमाडौं महानगरमा ताला फोडेर गुरागाईंलाई कार्यकक्षमा गराइयो प्रवेश

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २१ चैत । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई बिहीबार  कार्यकक्षमा प्रवेश गराइएको छ ।

नगर प्रहरीले ढोकामा लगाएको ताला फोडेर उनलाई कार्यकक्षमा प्रवेश गराइएको हो ।

बिहीबारै यसअघि उक्त ताला फोडेर गुरागाईंलाई कार्यकक्षमा प्रवेश गराउने निर्णय गरिएको थियो । मेयर बालेन्द्र शाह (बालेन) अनुपस्थित रहेको कार्यपालिका बैठकबाट उनलाई त्यहाँ प्रवेश गराउने निर्णय गरिएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यकक्षमा प्रवेश गराउने बैठकको नेतृत्व उपमेयर सुनीता डंगोलले गरेकी थिइन् । गुरागाईं कार्यालय जाने चर्चाबीच नगर प्रहरीले बिहीबार बिहान उनको कार्यकक्षमा ताला लगाएको थियो ।

गुरागाईं ०८१ पुस १४ गतेदेखि निलम्बनमा थिए । मेयर बालेनले उनलाई निलम्बन गरेका हुन् ।

काठमाडौं टावर १२ तलाको बनाउने भनिएको थियो । तर, त्यसलाई १९ तलाको बनाउन स्वीकृति दिएको आरोपमा गुरागाईंलाई कार्यालयमा उपस्थित हुन रोक लगाइएको थियो ।

महानगरले गुरागाईंमाथि छानबिन गर्न यसअघि तीन समिति बनाएको थियो । तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई नै काम गर्ने वातावरण मिलाउन निर्देशन दिँदै आएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्