१६ वर्षपछि अरुण तेस्रो जलविद्युत् आयोजना प्रवेश मार्गको छुट मुआब्जा वितरण 

खबर बुक
  • ख-
  • ख
  • ख+

३० माघ, काठमाडौं । संखुुवासभामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गको छुट मुआब्जा पीडितले १६ वर्षपछि पाएका छन्।

अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्ग (छ्याङकुुटी–दिदिङ) सडक खण्डको जग्गाको मुआब्जा वतरण गर्न थालिएको हो।

प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार सर्वोच्च अदालतको आदेश अनुसार छ्याङकुटी–दिदिङ सडक खण्डको (२४.५ किलोमिटर) अन्तर्गत चार सय ५४ रोपनी जग्गाको मुआब्जा वितरण थालिएको हो। 

अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गको छुट मुआब्जावापतको रकम हालसम्म चार करोड ८८ लाख पीडितको खातामा भुक्तानी भइसकेको प्रजिअ खड्काले बताउनुभयो । खाँदबारी नगरपालिका–४, छ्याङ्कुटीदेखि चिचिला गाउँपालिका–२, दिदिङ सडक खण्डको पीडितले छुट मुआब्जाको माग गर्दै आएका थिए। 

२०८० वैशाख २६ गते छ्याङ्कुुटी–दिदिङ सडक खण्डको छुट मुआब्जा प्रमुख जिल्ला अधिकारी संयोजक भएको मुआब्जा निर्धारण समितिले प्रतिरोपनी ११ लाख ७५ हजार दिने निर्णय गरेको थियो। 

छ्याङकुटी–दिदिङ सडक खण्डको (२४.५ किलोमिटर) जग्गाको मुआब्जा  २०४६ सालमा नै दिएको भए पनि छुट जग्गाको मुआब्जा जग्गाधनीले पाएका थिएनन्।

गत माघ ९ गते जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवाला र सर्वदलीय बैठकको निर्णयानुसार प्रवेशमार्ग (छयाङ्कुटी–दिदिङ) सडक खण्डको जग्गाको मुआब्जा वितरण प्रक्रिया अघि बढाइएको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्