
असोज २०, काठमाडौं । आवश्यकताका आधारमा भन्दा पनि कुनै नेता वा मन्त्रीको अडानका कारण विमानस्थल निर्माणको स्वीकृति लिनेक्रम बढेको भन्दै सरकारले अब त्यसमा कडाइ गर्ने भएको छ ।
विशेष गरी राजनीतिक दलका नेताहरूले चुनावको समयमा मतदाता रिझाउनका लागि विमानस्थल निर्माण गर्ने प्रतिबद्धता जनाउने परिपाटी गलत भएको सरकारको बुझाइ छ ।
पर्यटन मन्त्री जीवनराम श्रेष्ठले आवश्यकता भएको ठाउँमा मात्रै विमानस्थल निर्माण हुने गरी व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिइएको बताउनुभयो ।
आगामी मंसिर ४ को निर्वाचनका लागि राजनीतिक दलका नेताहरूले जहाँ पनि विमानस्थल बनाउने आश्वासन बाँड्नसक्नेतर्फ नागरिक स्वयं चनाखो हुनुपर्ने उहाँको भनाइ छ ।
नेपाल नागरिक उड्ड्यन प्राधिकरणका अनुसार हाल नेपालमा ५४ वटा विमानस्थल छन् । तीमध्ये ३६ वटा सञ्चालनमा छन् ।