‘रावायण’ फिल्मको विवादमा अभिनेता अनमोल केसी पक्राउ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १२ असोज । आपराधिक विश्वासघात गरेको आरोपमा अभिनेता अनमोल केसी पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले साँगाबाट उनलाई पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले बताए ।

रावायण नामक फिल्ममा भएको विवादलाई लिएर निर्माता समूहले केसीविरुद्ध आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएका थिए । उनलाई भक्तपुरको साँगाबाट साँझ साढे ५ बजे नियन्त्रणमा लिइएको र थप अनुसन्धानका लागि हिरासतमा लिइएको प्रवक्ता रेग्मीले जानकारी दिए ।

निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सन प्रालिको तर्फबाट सुप्रिया भन्ने चन्द्रकला कटुवालले उजुरी दिएकी थिइन् । उक्त उजुरीको आधारमा अनमोलविरुद्ध केही दिनअघि पक्राउ पुर्जी जारी भएको रेग्मीले जानकारी दिए । प्रहरीले खोजी कार्य गर्दा सूचनाको आधारमा साँगाबाट पक्राउ गरिएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार, केसीले फिल्म खेल्छु भनेर बैंक ट्रान्सफरमार्फत १० लाख रुपैयाँ लिएका थिए । तर, फिल्म खेल्न मानेका थिएनन् ।

यही फिल्मलाई लिएर निर्माण पक्षको एक करोड ५ लाख रुपैयाँ बजारमा गइसकेको समेत उनले बताए ।

केसीले फिल्म नखेल्ने भनेर लगानी धरापमा परेपछि दशैंको मुखमा ६५ जना प्राविधिक समेत अलपत्र परेको राठौरले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्