भदौ १५ गते नारायण रायमाझी साङ्गीतिक साँझ आयोजना हुने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ७ भदौ ।  बिशिष्ट लोकदोहोरी गायक तथा संगीतकार नारायण रायमाझी एकल साँझमा गुन्जने भएका छन् ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले यहि भदौ १५ गते प्रज्ञाप्रतिष्ठान कमलादीमा रायमाझीको एकल साँझ आयोजना गर्ने भएको हो ।
नेपाल टेलिकम मुख्य प्रयोजक रहेको एकल साँझको ‘नारायण रायमाझी साङ्गीतिक साँझ–२०८०’ नाम दिइएको छ ।

कार्यक्रममा गायक रायमाझीले आफ्ना लोकप्रिय पुरानादेखि नयाँ दर्जनबढी गीत प्रस्तुत गर्नेछन् । प्रतिष्ठानले पहिलो पटक श्रष्टाको एकल साँझ आयोजना गर्न लागेको हो ।
सोमबार राजधानीमा एक पत्रकार भेटघाट कार्यक्रम गर्दै प्रतिष्ठानले एकल साँझको बिभिन्न पक्षबारे जानकारी गराएको छ ।

कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले अग्रज कलाकारको सम्मान, लोककला र संस्कृितको संरक्षण गर्ने उद्देश्यका साथ यो बर्षबाट एकल साँझ आयोजना थालेको जानकारी दिइन् ।

कार्यक्रममा गायक तथा संगीतकार रायमाझीले प्रतिष्ठान जस्तो गरिमामय संस्थाले गर्न लागेको पहिलो एकल साँझमा आफु छनोटमा पर्नु भनेको आफ्नो अहोभाग्य भएको बताए । उनले आयोजना हुन लागेको एकल साँझ आफ्नो जीवनकै पहिलो एकल साँझ भएकोले आफ्ना लागि चुनौती र अवसर दुबै रहेको धारणा राखे । जीवनका सुख, दुःखका नयाँ तथा पुराना गीतसंगीत दर्शक समक्ष पोख्ने सुवर्ण अवसरको रुपमा एकलसाँझलाई आफुले लिएको उनले सुनाए ।

कार्यक्रममा नेपाल टेलिकमका प्रवन्धक हरि ढकालले लोक गीतसंगीत राष्ट्रको पहिचान भएका बताउदै लोक गीत संगीतको अग्रज श्रष्ठाको कार्यक्रममा जोडिन पाउँदा खुसी लागेको बताए ।

दिनको १ देखि ७ बजेसम्म ६ घन्टा चल्ने एकल साँझमा करिब हजारौ दर्शक हुने अपेक्षा आयोजकको छ । प्रज्ञाप्रतिष्ठानको हल भित्र भिआइपीहरुका लागि प्रत्यक्ष हेर्न र सुन्ने ब्यवस्था गरिने र बाहिर चौरमा स्क्रिन मार्फत सर्वसाधारणका लागि हेर्ने र सुन्ने ब्यवस्था हुनेछ । कार्यक्रमको खर्च तिस लाख हुने आयोजकले अनुमान गरेको छ । क्लालिटी साउन्ड सिस्टम सहित उत्कृष्ट तरिकाले आयोजना हुने कार्यक्रमका लागि टिकटको समेत ब्यवस्था गरिनेछ ।

पाल्पा जिल्ला साबिकको झडेवा वडा नं. ५ र हाल माथागढी गाउँपालिका वडा नं. ४ देउवीर, गोठादीमा वि.सं. २०२० सालमा जन्मिएका गायक रायमाभी लोक गीतसङ्गीतमै जीवन समर्पण गर्ने ब्यक्ति हुन् ।

२०४२ सालमा कारगिल (रेलिमै) बाट आफ्नो साङ्गीतिक यात्राको थालनी गरेका रायमाझीका भईफुलबुट्टे चोलीमा, राम्दीपूल तरने बित्तिकै, राम्दी पूल तर्ने, गेटमा बेलीजाई, कालो केशमा रातो रिबन, शिरमा रिबन, तिनाउ खोलामा, पसिनाले पैसा साटेर, माया पैंचो नदेउ साईंली, लाइछौ बेशन, नमुछे आमा दहीमा टीका, हाँसेर बोलीदेऊ माया, सान्नानीले झुक्कायो मलाई लगायतका सयौँ लोकप्रिय गीतहरू छन् ।
रायमाझीले ‘गोर्खा पल्टन’, ‘परदेशी’ र ‘परदेशी २’ लगायतको फिल्म पनि निर्माण निर्देशन गरेका छन् । ‘परदेशी २’ प्रदर्शनमान आउन बाँकी रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्