काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभीरमा गएराति खसेको सुक्खा पहिरो हटाइएसँगै अवरुद्ध सडक पुनः सञ्चालनमा आएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सुमित खड्काका अनुसार गएराति करिब ११ बजे घोप्टेभीरमा सुक्खा पहिरो खसेको थियो। पहिरोका कारण सडक अवरुद्ध हुँदा राजमार्गमा आवतजावत गर्ने यात्रु तथा सवारीसाधन बाटोमै रोकिएका थिए।
पहिरो हटाएपछि अहिले उक्त सडकखण्डमा सवारी आवागमन पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
यसअघि हिजो पनि सोही सडकखण्डमा पहिरो खसेको थियो। उक्त पहिरो हटाउन मात्रै करिब नौ घण्टा लागेको थियो। लगातार पहिरो खस्दा पृथ्वी राजमार्ग भएर यात्रा गर्ने यात्रुहरूले सास्ती भोग्नुपरेको छ।







