आजको पञ्चाङ्ग : गोवर्धन पूजा, गोरु तिहार तथा नेपाल संवत् ११४७ को शुभारम्भ

खबर बुक
  • ख-
  • ख
  • ख+

आज २०८३ साल कार्तिक २४ गते मंगलबार। ईस्वी संवत् २०२६ नोभेम्बर १० तारिख। आज नेपाल संवत् ११४७ को शुभारम्भ भएको छ। आज कार्तिक शुक्लपक्ष प्रतिपदा तिथि रहेको छ। मध्यान्ह १२ बजेर ४१ मिनेटपछि द्वितीया तिथि सुरु हुनेछ। बिहान ९ बजेर १२ मिनेटसम्म विशाखा नक्षत्र रहनेछ भने त्यसपछि अनुराधा नक्षत्र सुरु हुनेछ। आज शोभन योग र वृश्चिक चन्द्रराशि रहेको छ।

आज गोवर्धन पूजा, गोरु पूजा अर्थात् गोरु तिहार, बलिपूजा र म्हः पूजा मनाइँदैछ। विशेषगरी नेवार समुदायले आज नयाँ वर्षका रूपमा नेपाल संवत् ११४७ को स्वागत गर्दै म्हः अर्थात् आत्मपूजा गर्ने परम्परा रहेको छ। यस अवसरमा देशका विभिन्न स्थानमा धार्मिक, सांस्कृतिक तथा परम्परागत कार्यक्रम आयोजना भइरहेका छन्।

आज काठमाडौंमा सूर्योदय बिहान ६ बजेर २१ मिनेटमा भएको छ भने सूर्यास्त बेलुकी ५ बजेर १२ मिनेटमा हुनेछ।

आजको बारबेलाअनुसार बिहान ९ बजेर ५ मिनेटदेखि १० बजेर २६ मिनेटसम्म लाभ बेला र १० बजेर २७ मिनेटदेखि ११ बजेर ४७ मिनेटसम्म अमृत बेला रहनेछ। दिउँसो २ बजेर २९ मिनेटदेखि ३ बजेर ५१ मिनेटसम्म राहुकाल रहनेछ।

अब आजको राशिफलतर्फ लागौँ।

मेष राशि: आज तपाईंलाई अप्रत्याशित धन तथा भौतिक सम्पत्ति प्राप्त हुने योग रहेको छ। प्रेम सम्बन्धमा निकटता बढ्नेछ भने आफन्तबाट सहयोग मिल्नेछ। चाडपर्व लक्षित व्यापार व्यवसायमा वृद्धि हुने सम्भावना छ। तर सवारीसाधन प्रयोग गर्दा सावधानी अपनाउनुहोला। स्वास्थ्यमा पनि विशेष ध्यान दिनुपर्ने देखिन्छ।

वृष राशि: आज गीतसङ्गीत, मनोरञ्जन तथा साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। रोकिएका लेखन तथा सिर्जनात्मक काम पूरा गर्न सकिनेछ। व्यापार व्यवसायमा राम्रो आम्दानी हुने सम्भावना छ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ भने जीवनसाथीको सहयोगले महत्त्वपूर्ण काम सम्पन्न गर्न सकिनेछ।

मिथुन राशि: पुराना विवाद तथा मनमुटाव समाधान हुँदै जानेछन्। प्रेम सम्बन्धमा निकटता बढ्नेछ भने दाम्पत्य जीवनमा एकअर्काको सहयोग प्राप्त हुनेछ। ऋण तथा समस्यासँग जुध्ने आत्मविश्वास बढ्नेछ। व्यापार व्यवसायबाट लाभ लिन सकिने सम्भावना छ।

कर्कट राशि: आज स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले दैनिक कामकाजमा कठिनाइ हुन सक्छ। प्रेम सम्बन्धमा अविश्वास बढ्न सक्ने भएकाले एकअर्काप्रति विश्वास कायम राख्नुहोला। सट्टेबाजी तथा मनोरञ्जनात्मक खेलमा आर्थिक नोक्सानी हुन सक्ने भएकाले सचेत रहनुहोला।

सिंह राशि: पारिवारिक समस्याले केही तनाव दिन सक्छ। आमाको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने देखिन्छ। साथीभाइ तथा आफन्तबाट काममा अवरोध आउन सक्छ। प्रेम सम्बन्धमा समय दिन नसक्दा सामान्य मनमुटाव हुन सक्छ। यद्यपि कृषि तथा पशुपालन व्यवसायबाट लाभ लिन सकिने योग छ।

कन्या राशि: आज विभिन्न अवसरको सदुपयोग गर्दै महत्त्वपूर्ण तथा परिणाममुखी काम गर्न सकिनेछ। दाजुभाइ, आफन्त तथा छिमेकीसँग रमाइलो भेटघाट हुनेछ। प्रेम सम्बन्ध थप प्रगाढ बन्नेछ भने व्यापार व्यवसायबाट राम्रो आम्दानी हुने सम्भावना छ।

तुला राशि: विगतमा गरेका कामको सकारात्मक परिणाम प्राप्त हुँदा मन प्रसन्न रहनेछ। लामो समयदेखि रोकिएका कामहरू अघि बढ्नेछन् भने नयाँ काम सुरु गर्ने वातावरण बन्नेछ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। यात्रा तथा मनोरञ्जनमा समय बित्नेछ।

वृश्चिक राशि: नयाँ प्रविधिको प्रयोगबाट सिर्जनात्मक काम गर्दै आम्दानी बढाउन सकिनेछ। आफन्त तथा परिवारको सहयोग प्राप्त हुनेछ। पुराना सम्बन्ध पुनः जोडिने सम्भावना छ। दाम्पत्य जीवनमा विश्वास र आत्मीयता बढ्नेछ। होटल, रेस्टुरेन्ट तथा सञ्चारसँग सम्बन्धित व्यवसायमा सफलता मिल्न सक्छ।

धनु राशि: आज आम्दानीको तुलनामा खर्च कम हुँदा आर्थिक बचत गर्न सकिनेछ। स्वास्थ्य सामग्री तथा खाद्यान्नको व्यापारबाट लाभ मिल्ने सम्भावना छ। प्रेम सम्बन्धमा रमाइलो समय बित्नेछ। यात्रा, खानपान तथा मनोरञ्जनका क्षेत्रमा समय व्यतीत हुनेछ।

मकर राशि: चाडपर्व लक्षित व्यापार व्यवसायबाट राम्रो आम्दानी गर्न सकिनेछ। पुराना विवाद तथा समस्याहरू समाधान हुँदै जानेछन्। सामाजिक काममा सक्रियता बढ्नेछ भने मानसम्मान र प्रतिष्ठामा वृद्धि हुने योग छ। पारिवारिक भेटघाट तथा रमाइलोमा दिन बित्नेछ।

कुम्भ राशि: विभिन्न चुनौतीलाई पार गर्दै आफ्ना काम सफल बनाउन सकिनेछ। व्यापार व्यवसायमा सुधार आउनेछ भने परिवारका सदस्यबाट प्रशंसा र सहयोग प्राप्त हुनेछ। लामो समयदेखि भेट नभएका साथीभाइ तथा आफन्तसँग भेटघाट हुँदा मन प्रसन्न रहनेछ।

मीन राशि: आज भाग्यले साथ दिनेछ। सानो लगानीमा सुरु गरिएको व्यापार व्यवसायबाट पनि राम्रो आम्दानी गर्न सकिने सम्भावना छ। अध्ययन तथा अनुसन्धानका क्षेत्रमा रुचि बढ्नेछ। धार्मिक तथा आध्यात्मिक गतिविधिमा मन जानेछ भने प्रेम र मित्रताको सम्बन्ध थप प्रगाढ बन्नेछ।

यो थियो आजको पञ्चाङ्ग तथा १२ वटै राशिको राशिफल। तपाईंको दिन शुभ रहोस्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्