त्रिशूली–३ ए को सुरुङ खोल्ने प्रयास जारी, ठूला ढुंगा विस्फोट गराउँदै उद्धार टोली

खबर बुक
  • ख-
  • ख+

१७ भदौ, काठमाडौं । भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण मानिसहरू थुनिएको भनिएको त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा उद्धार प्रयास जारी छ।

स्वदेशी विज्ञ तथा सुरक्षाकर्मीको संयुक्त टोलीले सुरुङमा फसेकाहरूको खोज तथा उद्धारका लागि काम गरिरहेको छ।

जियोटेक्निकल इन्जिनियर उदयराज न्यौपानेका अनुसार मंगलबार सुरुङ खोल्ने तथा भित्र जमेको हिलो सफा गर्ने काम भइरहेको छ।

उनका अनुसार सुरुङको प्रवेशद्वार स्ल्याबले बन्द गरिदिएकाले ठूला ढुंगा तथा अन्य सामग्री भित्र पस्न नपाएको अनुमान गरिएको छ।

‘स्ल्याबले सुरुङको ढोका बन्द गरिदिएछ। ढोका बन्द भएकाले यसभित्र अरू ढुंगा नछिरेको हाम्रो विश्वास छ,’ न्यौपानेले भने, ‘त्यसैले हामी आशावादी छौँ।’

उनका अनुसार सुरुङभित्र रहेका सातवटा ठूला ढुंगालाई एक–एक गरी विस्फोट गराएर हटाउने काम भइरहेको छ।

‘त्यहाँ रहेका सातवटा ठूला ढुंगाहरूलाई एक–एक गरी विस्फोट गराइँदैछ। आज हामी सुरुङभित्र छिर्ने प्लानअनुसार काम गरिरहेका छौँ,’ उनले भने।

उद्धार टोलीले सुरुङभित्र प्रवेश गर्न सक्ने अवस्था बनाउन ढुंगा हटाउने र हिलो सफा गर्ने कामलाई प्राथमिकता दिएको छ। सुरुङभित्र फसेका व्यक्तिको अवस्थाबारे यकिन जानकारी प्राप्त हुन नसकेकाले उद्धार टोलीले सम्भावित सबै कोणबाट खोजी अघि बढाइरहेको जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्