रसुवाको बाढी ‘सिंगो नेपालको छातीमा परेको साझा बज्रपात’ : प्रधानमन्त्री शाह

खबर बुक
  • ख-
  • ख+

१७ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवामा गएको विनाशकारी बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात भएको बताएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढीबाट रसुवा, नुवाकोट र धादिङ मात्रै नभई सिंगो देश प्रभावित भएको बताए।

उनले भने, ‘यो पीडा रसुवा, नुवाकोट र धादिङको मात्रै होइन। यो सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो।’

भदौ १० गते बुधबार भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेसी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत क्षेत्र प्रभावित भएका छन्। त्यस्तै, धादिङ, चितवन र गोरखाका त्रिशूली नदी तटीय क्षेत्रसमेत बाढीबाट प्रभावित भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म १ हजार ११४ जनाको शव फेला परेको छ।

प्राधिकरणका अनुसार रसुवामा ४१, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७ र नवलपरासी पश्चिममा १९० जनाको शव फेला परेको हो।

बाढीका कारण ३ हजार ९१६ जना सम्पर्कविहीन रहेको तथा २९२ जना घाइते भएको जनाइएको छ। हालसम्म प्रभावित क्षेत्रबाट ११ हजार ९९३ जनाको उद्धार गरिएको प्रधानमन्त्री शाहले प्रतिनिधिसभालाई जानकारी दिए।

प्रधानमन्त्री शाहले प्रतिनिधिसभाको बैठकमा बाढीबाट भएको क्षति, बेपत्ता तथा उद्धारको अवस्थाबारे सुरुमै जानकारी गराएका थिए।

उनले विपद्को यस्तो अवस्थामा थकानका कारण विश्राम लिने अवस्था नरहेको बताए। पीडामा मन भक्कानिए पनि अहिले एक–अर्कासँग दुःख बाँडेर बस्नेभन्दा प्रभावित नागरिकको उद्धार र राहतमा जुट्नुपर्ने समय रहेको उनको भनाइ थियो।

‘यतिबेला शरीर थाक्यो भनेर विश्राम लिने छुट छैन। मन भक्कानिँदा पनि एक–आपसमा सेयर गर्ने समय छैन,’ प्रधानमन्त्री शाहले भने।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्