काठमाण्डौँ : बिनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगार्थ प्रतिनिधिसभा सदस्य रतना कुमारी थापाको पहल तथा समन्वयमा संकलित राहत सामग्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उद्धार तथा राहत समितिलाई हस्तान्तरण गरिएको छ।
बाढी प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले देश तथा विदेशमा रहेका नेपालीको सहयोगमा संकलित सामग्री रास्वपाको केन्द्रीय कार्यालयमा समितिलाई हस्तान्तरण गरिएको हो।
राहत संकलन अभियानमा बेलायतस्थित York St John University का सन् २०२५ ब्याचका नेपाली विद्यार्थी तथा रुस र नेपालमा व्यवसाय गर्दै आएका नेपालीहरूको आर्थिक सहयोग रहेको जनाइएको छ।
राहत सामग्री हस्तान्तरण गर्दै सांसद थापाले बाढीबाट प्रभावित परिवारप्रति दुःख व्यक्त गर्दै विपद्को कठिन समयमा सहयोगका लागि जुटेका देश–विदेशका नेपालीप्रति आभार व्यक्त गरेकी छन् ।
उनले विपद् प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउँदै पीडितको सहयोगका लागि आगामी दिनमा पनि पहल र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता जनाएकी छन् ।










