काठमाडौँ । भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक मार्ग तय भएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै वैकल्पिक मार्गको जानकारी दिएको हो । सूचनाअनुसार १० चक्कासम्मका सम्पूर्ण मालवाहक तथा ठूला यात्रुवाहक सवारी साधन त्रिभुवन राजपथ हुँदै काठमाडौँतर्फ जाने र फर्किंदा कान्ति राजमार्ग हुँदै फर्किने व्यवस्था मिलाइने भएको छ ।
साथै, मौसम र बाटोलगायत यात्रुहरूको सुरक्षालाई समेत मध्यनजर गर्दै कान्ति राजमार्ग हुँदै हेटौंडातर्फ आउने यात्रुवाहक सवारी साधनहरू अनिवार्य रूपमा साँझ ६ बजे भित्रमा मकवानपुरको इलाका प्रहरी कार्यालय ठिङ्गन चेकपोष्ट पार गरिसक्न सूचना जारी भएको छ ।
१४ सीटभन्दा कम क्षमता भएका साना यात्रुवाहक सवारी साधनहरू हेटौंडातर्फ आउँदा फर्पिङ-फाखेल, कुलेखानी हुँदै भीमफेदीतर्फ आउने तथा काठमाडौँतर्फ जाँदा भीमफेदी-कुलेखानी-सिस्नेरी-दक्षिणकाली हुँदै जाने रुट तय गरिएको छ ।










