उड्न लागेको विमानमा आगलागी, १७६ यात्रुको सकुशल उद्धार

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, माघ १६ । दक्षिण कोरियाको विमानस्थलमा मंगलबार राति उडान गर्नुअघि यात्रुवाहक विमानमा आगलागी भएको छ। घटनामा जहाजभित्र रहेका १७६ यात्रु सुरक्षित रूपमा बाहिर निकालिएको समाचारमा जनाइएको छ।

दक्षिण कोरियाली एयरलाइन्स एयर बुसानद्वारा सञ्चालित एयरबस विमान हङकङका लागि प्रस्थान गर्ने तयारी गरिरहेको बेला दक्षिणपूर्वको गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा यसको पछाडिका भागमा आगलागी भएको यातायात मन्त्रालयले विज्ञप्तिमा जनाएको छ।

विमानका १६९ यात्रु, ६ जना चालक दलका सदस्य र एक जना इन्जिनियरलाई एस्केप स्लाइड प्रयोग गरेर बाहिर निकालिएको मन्त्रालयले जनाएको छ।

राष्ट्रिय अग्नि नियन्त्रण निकायले जारी गरेको विज्ञप्तिमा उद्धारका क्रममा ३ जना सामान्य घाइते भएका छन्। अग्नि नियन्त्रण निकायले घटनास्थलमा दमकल र दमकलकर्मी परिचालन गरेको एक घन्टापछि स्थानीय समयानुसार राति ११ः३१ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको बतायो।

आगलागीको कारण तत्काल थाहा हुन सकेको छैन। यातायात मन्त्रालयले उक्त विमान ए ३२१ मोडेलको रहेको बताएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्