काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बाढी प्रभावित क्षेत्रमा अलपत्र रहेका यात्रुको स्थलमार्गबाट उद्धार गर्न निःशुल्क यातायात सेवा सुरु गरेको छ।
शुक्रबार एउटा सवारीसाधनबाट सुरु गरिएको सेवाको पहिलो दिन दुई बालबालिका, नौ महिला र आठ पुरुष गरी १९ जनालाई काठमाडौँ ल्याइएको महानगरपालिकाले जनाएको छ।
शनिबारदेखि दुईवटा सवारीसाधन सञ्चालनमा ल्याइएको छ। तीमध्ये एउटा यसअघि रसुवादेखि काठमाडौँ यात्रु ओसार्दै आएको ००६ ख ९३३९ नम्बरको १९ सिट क्षमताको गाडी हो। अर्को सवारीसाधन महानगरपालिकाको अनुरोधमा छत्रपाटी निःशुल्क चिकित्सालयले उपलब्ध गराएको ०३० च ७३६४ नम्बरको गाडी हो। उक्त गाडीमा १० जना यात्रु अट्ने क्षमता रहेको छ।
निःशुल्क सञ्चालन गरिएका सवारीसाधन पहिचान गर्न अगाडि र पछाडि ब्यानर राखिएको छ। दुवै सवारीसाधनमा नगर प्रहरीसमेत परिचालन गरिएको महानगरपालिकाले जनाएको छ।
आवश्यकताका आधारमा सवारीसाधनको संख्या थप गर्दै सेवा विस्तार गर्ने महानगरपालिकाको योजना छ।
सवारीसाधनमा परिचालित जनशक्तिलाई विपद् व्यवस्थापनमा प्रोत्साहित गर्न महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, प्रवक्ता नवीन मानन्धर तथा विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापा शनिबार सभागृह पुगेका थिए।
उनीहरूले यात्रुको अपेक्षा र सेवा सञ्चालनको उद्देश्यअनुसार प्रभावकारी रूपमा काम गर्न परिचालित जनशक्तिलाई प्रोत्साहित गरेका थिए।
यो सेवा नुवाकोटको विदुर नगरपालिकादेखि काठमाडौँ महानगरपालिकासम्म सञ्चालन हुनेछ। कामको सिलसिलामा रसुवा, नुवाकोटलगायत बाढी प्रभावित क्षेत्रमा पुगेपछि विपद्का कारण अलपत्र परेका र काठमाडौँ आउन चाहने व्यक्ति तथा प्रभावित क्षेत्रमा रहेका आफन्तको खोजीका लागि काठमाडौँबाट ती क्षेत्रमा जानुपर्ने व्यक्तिलाई लक्षित गरी सेवा सुरु गरिएको महानगरपालिकाले जनाएको छ।
सञ्चालित दुवै सवारीसाधनले दैनिक दुई पटक यात्रु ओसार्नेछन्।










