काठमाडौं । चीनबाट सुरुङसम्बन्धी विज्ञहरूको दुईवटा टोली नेपाल आउने भएका छन्। भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार कार्य जारी रहेका बेला चीनबाट विज्ञ टोली आउन लागेको हो।
बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा केही व्यक्ति फसेका छन्। उनीहरूको उद्धारका लागि नेपाली सुरक्षाकर्मी तथा प्राविधिक टोलीले काम गरिरहेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि उत्खनन कार्य जारी छ।
हालसम्म २० फिटभन्दा बढी उत्खनन भइसकेको कार्यालयले जनाएको छ। उत्खननको प्रगति राम्रो रहेकाले दिउँसो २ बजेसम्म सुरुङको मुखसम्म पुग्न सकिने अनुमान गरिएको छ।
बाढीका कारण अन्य जलविद्युत् आयोजना पुरिएका तथा बगेका क्षेत्रमा पनि खोज तथा उद्धार कार्य जारी रहेको जनाइएको छ।
यहीबीच चीनबाट सुरुङसम्बन्धी विज्ञहरूको दुईवटा टोली नेपाल आउन लागेको हो। विज्ञ टोलीले सुरुङमा फसेकाको उद्धार तथा बाढीबाट प्रभावित संरचनाको अवस्थाबारे प्राविधिक सहयोग गर्ने अपेक्षा गरिएको छ।










