नेपाल संवत् नेपालको मौलिक पहिचान हो : राष्ट्रपति पौडेल

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् नेपालको मौलिक संवत् तथा राष्ट्रिय पहिचान भएको बताउनुभएको छ।

नेपाल संवत् ११४७ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले लिच्छविकालीन राजा राघवदेवको शासनकालमा काठमाडौं उपत्यकाका किसान तथा गरिब जनतालाई ऋणमुक्त गराई शङ्खधर साख्वाले नयाँ युगको सुरुवात गरेको स्मरण गर्नुभएको छ।

उहाँले शङ्खधर साख्वाको यही लोककल्याणकारी तथा परोपकारी कार्यको सम्मानस्वरूप नेपाल संवत् प्रचलनमा आएको उल्लेख गर्नुभएको छ।

राष्ट्रपति पौडेलले नेपाली समाज सभ्य, सहिष्णु र एकताको सूत्रमा आबद्ध रहेको बताउँदै यस्ता मौलिक परम्पराले नेपाली सभ्यता, इतिहास, स्वतन्त्रता र राष्ट्रिय पहिचानलाई थप सुदृढ बनाउँदै आएको धारणा व्यक्त गर्नुभएको छ।

काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा नेपाल संवत्को नयाँ वर्षलाई विशेष पर्वका रूपमा मनाउने गरिएको उल्लेख गर्दै उहाँले शङ्खधर साख्वाले देखाएको सामाजिक समानता, आर्थिक मुक्ति र लोककल्याणको मार्गबाट प्रेरणा लिन सबैलाई आग्रह गर्नुभएको छ।

साथै, निःस्वार्थ भावले सामाजिक समानता, सुशासन, उन्नति र प्रगतिका लागि अग्रसर हुन आजको दिनले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै राष्ट्रपति पौडेलले नेपाल संवत्ले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई थप मजबुत बनाउने कामना गर्नुभएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्