आज गाई पूजा, मीठा परिकार दिएर गाई पूजा गरिँदै

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडाैं, २२ कार्तिक।  गाई पूजा नेपालीहरूको महान् चाड तिहार (यमपञ्चक) को तेस्रो दिन अर्थात् कार्तिक कृष्ण औँसीका दिन मनाइने अति महत्वपूर्ण पर्व हो। यस दिन हिन्दू धर्ममा गाईलाई गौमाता तथा धनकी देवी लक्ष्मीको रूपमा मानेर विशेष पूजा-आराधना गरिन्छ।

हिन्दू शास्त्रहरूमा गाईलाई सबै देवी-देवताहरूको बासस्थान भएको पवित्र प्राणी मानिएको छ। गाईलाई लक्ष्मीको रूपमा समेत पूजा गरिन्छ, जसले घरमा सुख, शान्ति र समृद्धि ल्याउने जनविश्वास छ। धार्मिक मान्यता अनुसार जीवित रहँदा गाईको सेवा गर्ने र मरणोपरान्त गाईको पुच्छर समातेर वैतरणी नदी पार गर्न सकिन्छ भन्ने पौराणिक जनविश्वास रहेको छ। गाईबाट प्राप्त हुने पाँच वस्तुहरू (दुध, दही, घ्यू, गहुँत र गोबर) लाई ‘पञ्चगव्य’ भनिन्छ, जुन धार्मिक तथा आयुर्वेदिक दुवै दृष्टिले अत्यंत पवित्र र शुद्ध मानिन्छ।

यस दिन बिहान सबेरै उठेर घरआँगन सफा गर्ने र गाईको गोठ वा बस्ने ठाउँलाई लिपपोत गरेर पवित्र बनाइन्छ। गाईलाई तोरीको तेलले मालिस गरेर सफा पानीले नुहाई-धुवाइ गरिन्छ। त्यसपछि गाईको सिङमा तेल वा रङ लगाइदिने र शरीरमा विभिन्न रङका छापहरू लगाएर सजाउने गरिन्छ। गाईको निधारमा अक्षता, चन्दन र अबिरको टीका लगाइदिइन्छ भने गलामा सयपत्री फूलको माला पहिर्याइन्छ।

गाईलाई पूजा गरेपछि फर्सी, चामलको पिठो, सेलरोटी, खोले तथा विभिन्न मीठा परिकारहरू र हरियो घाँस खान दिइन्छ। गाईलाई पूजा गरी श्रद्धापूर्वक ढोग्ने र गाईको खुट्टाबाट निस्किएको धुलोलाई निधारमा लगाउने परम्परा छ।  

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्