एनपीएलमा काठमान्डु गोर्खाजको पहिलो जित, रोमाञ्चक खेलमा कर्णाली याक्स ४ विकेटले पराजित

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमान्डु गोर्खाजले पहिलो जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै सम्पन्न खेलमा काठमान्डुले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो । योसँगै कर्णालीले प्रतियोगितामा पहिलो हार व्यहोरेको छ ।

कर्णालीले दिएको १८१ रनको लक्ष्य काठमान्डुले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

काठमान्डुको जितमा राशिद खानले अर्धशतक बनाउँदै सर्वाधिक ५० रन जोडे । कप्तान करण केसीले ४४ रनको महत्त्वपूर्ण योगदान दिए भने आदिल आलमले २० र डेभिड वार्नरले १६ रन बनाए । त्यस्तै जहानदाद खान २२ रनमा अविजित रहे ।

बलिङतर्फ कर्णालीका सोमपाल कामी र हुसैन तलतले दुई-दुई विकेट लिए भने नन्दन यादव र मार्क वाटले एक-एक विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको थियो ।

कर्णालीका लागि अरिफुल इस्लामले ४४ रन बनाए । उनले २१ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । हुसैन तलतले ४० रन जोडे भने गुलशन झाले ११ बलमा आक्रामक २० रन बनाए ।

त्यस्तै पवन सर्राफ ३० बलमा अविजित रहे भने मार्क वाटले १७ रनको योगदान दिए ।

काठमान्डुका करण केसीले दुई विकेट लिए । शाह आलम, देव शाह, सन्तोष यादव र जहानदाद खानले एक-एक विकेट हात पारे ।

१८१ रनको लक्ष्य सफलतापूर्वक पछ्याउँदै काठमान्डुले प्रतियोगितामा पहिलो जित निकाल्दा कर्णालीले भने पहिलो हारको सामना गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्