जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले लिए नाम फिर्ता, स्वार्थको द्वन्द्वबारे प्रश्न उठेपछि निर्णय

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन् । संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार थापाले नाम फिर्ता लिनेबारे समितिलाई जानकारी गराएका हुन् ।

सभापति श्रेष्ठले थापा अहिले पनि सिंहदरबारमै रहेको र केहीबेरमा नाम फिर्ता लिने निवेदन पठाउने जानकारी दिए । थापाले आफू समितिमा उपस्थित नहुने तर निवेदन भने पठाउने बताएका छन् ।

सभापति श्रेष्ठका अनुसार जापानको स्थायी आवासीय अनुमति (पीआर) र स्वार्थको द्वन्द्वसँग सम्बन्धित प्रश्न उठेपछि थापाले नाम फिर्ता लिने निर्णय गरेका हुन् ।

‘कानुनी रूपमा समस्या थिएन । स्वार्थको द्वन्द्वको कुरा आएकोले यो देशको कुरा पनि भएकोले नाम फिर्ता लिन्छु भन्नुभयो,’ सभापति श्रेष्ठले बताए ।

यसअघि असोज २८ गते थापाको संसदीय सुनुवाइ भएको थियो । नियुक्तिका लागि सिफारिस गरिएका १३ जनामध्ये समितिले त्यस दिन १० जनाको नाम मात्रै अनुमोदन गरेको थियो ।

जापानका लागि प्रस्तावित थापाको जापानमा पीआर रहेको भन्दै सांसदहरूले प्रश्न उठाएपछि उनको सुनुवाइसम्बन्धी निर्णय स्थगित गरिएको थियो ।

सुनुवाइका क्रममा थापाले आफूले जापानको पीआर त्यागिसकेको स्पष्टीकरण दिएका थिए । तर संविधानको धारा २९१ र पीआर त्यागेको अवधिलाई लिएर सांसदहरूले थप प्रश्न उठाएका थिए । अन्ततः स्वार्थको द्वन्द्वसम्बन्धी प्रश्नलाई ध्यानमा राख्दै उनले राजदूतका लागि प्रस्तावित आफ्नो नाम फिर्ता लिने निर्णय गरेका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्