ज्ञानेन्द्र शाहीको दाबी : ‘सुरुङभित्र फसेकाको उद्धारमा आवश्यक प्रविधि संसारभर छ’

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले विपद्का बेला सरकारले आवश्यक उपकरण तथा जनशक्ति समयमै परिचालन गर्न नसकेको आरोप लगाएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै शाहीले सुरुङमा फसेका नागरिकको खोज तथा उद्धारका लागि आवश्यक उपकरण खरिद र परिचालन गर्न आफूहरूले पटक–पटक आग्रह गरे पनि सरकारले प्रभावकारी कदम चाल्न नसकेको बताए।

उनले विपद् व्यवस्थापन शाखा तथा सम्बन्धित मन्त्रालयलाई आवश्यक उपकरणको व्यवस्था गर्न आग्रह गरिएको भए पनि त्यसअनुसार काम हुन नसकेको बताए।

अन्तर्राष्ट्रिय समुदायबाट राहत सामग्रीसँगै उद्धारसम्बन्धी विज्ञ उपलब्ध गराउने प्रस्ताव आएको भए पनि सरकारले त्यसलाई ९६ घण्टापछि मात्र स्वीकृति दिएको शाहीको आरोप छ।

स्थानीय तहलाई समेत खोज तथा उद्धार र राहत कार्यमा प्रभावकारी रूपमा परिचालन नगरिएको उनको भनाइ थियो।

‘सुरुङ उद्धारको प्रविधि संसारमै छैन भन्ने दाबी गलत’

प्रधानमन्त्री बालेन शाहले सुरुङभित्र जमेको हिलोमा उद्धार उपकरण पठाउने प्रविधि संसारमै नभएको दाबी गरेको भन्दै शाहीले त्यसको खण्डन गरे।

‘आज प्रधानमन्त्री संसद्मा बोल्नुहुन्छ, हिलोभित्र पसेको सुरुङभित्र पठाउने प्रविधि संसारमै छैन। दाबीका साथ भन्न सक्छु, संसारभरि यो प्रविधिमा काम भइरहेको छ,’ शाहीले भने।

उनले त्यस्ता प्रविधि संसारका विभिन्न स्थानमा प्रयोग भइरहेको दाबी गर्दै भने, ‘अहिले खोज्नुस् च्याटजिपिटी र गुगलमा। संसारभरि छ, संसारभरिले काम गरिरहेको छ।’

शाहीले सुरुङभित्र अझै मानिसहरू जीवित रहेको दाबीसमेत गरे। सुरक्षाकर्मीले जोखिम मोलेर खोज तथा उद्धारमा खटिइरहेको भन्दै उनले उनीहरूको तलब तथा सुविधा वृद्धि गर्न सरकारसँग माग गरे।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्