काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवामा आएको बाढीका कारण जलविद्युत आयोजनाका सुरुङमा भएको क्षति विश्वका अन्य सुरुङ दुर्घटनाभन्दा फरक प्रकृतिको भएकाले उद्धारमा कठिनाइ र ढिलाइ भएको बताएका छन्।
प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले रसुवा बाढीपछि जलविद्युत आयोजनाका सुरुङमा देखिएको विपद् विशेष प्रकृतिको रहेको बताए।
‘टनेलमा विपद् आउँदा सुरुङमा आएको पहिरो पन्छाएर प्रवेश गर्ने विशेषज्ञता विश्वभर रहेको छ। तर यो फरक घटना हो,’ प्रधानमन्त्री शाहले भने, ‘यहाँ टनेलहरू पहिरोले थुनिएको नभई बाढी र हिलोमाटो भित्र परेर थुनिएका हुन्। यस्तो अवस्थाको सुरुङ खोल्ने विशेषज्ञता अरू मुलुकसँग र हामीसँग पनि थिएन।’
अन्य मुलुकमा सुरुङमा हुने विपद् र त्यसपछि गरिने उद्धार तथा रसुवामा बाढीपछि जलविद्युत आयोजनाका सुरुङमा मानिसहरू थुनिएको घटना फरक प्रकृतिको भएको उनको भनाइ छ।
सुरुङ पुरिएका स्थानमा मौसमले साथ दिएर हिलो सुकेपछि मात्रै उद्धार तथा सफाइको काम अघि बढाउन सकिने भन्दै प्रधानमन्त्री शाहले भौगोलिक अवस्थाका कारण पनि उद्धारमा कठिनाइ भइरहेको बताए।
कतिपयले सुरुङ पुरिएको क्षेत्रमा स्काभेटरको संख्या बढाउनुपर्ने सुझाव दिएकोतर्फ संकेत गर्दै उनले धेरै स्काभेटर लग्दैमा काममा प्रगति नहुने स्पष्ट पारे।
‘धेरै स्काभेटरहरू सुरुङ पुरिएको साइटमा लगेर मात्रै काममा प्रगति हुँदैन। एउटा सुरुङमा एक पटकमा एउटा मात्रै एस्काभेटरले काम गर्न सकिन्छ,’ उनले भने।
‘गुगल गरेर र एआईलाई सोधेर मात्रै सबै कुरा थाहा हुँदैन’
प्रधानमन्त्री शाहले उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरीलगायत सुरक्षाकर्मीको कामलाई प्रोत्साहन गर्नुपर्ने बताए।
‘गुगल गरेर र एआईलाई सोधेको भरमा मात्रै हुँदैन। विदुर पुगेर हेरेको भरमा मात्रै त्यहाँको सबै कुरा थाहा हुँदैन,’ उनले प्रतिनिधिसभामा भने, ‘हामीले र हाम्रो सेना, सशस्त्र प्रहरीलगायतले त्यहाँ काम गरिरहनुभएको छ। यो काम भएन, त्यो काम भएन भन्नुभन्दा पनि उहाँहरूलाई प्रोत्साहन दिन लाग्नुपर्छ।’
गत साता बाढी आएलगत्तै विदेशी विशेषज्ञलाई उद्धारका लागि अनुमति नदिइएको भन्दै सरकारको आलोचना भइरहेका बेला प्रधानमन्त्री शाहले तत्काल सुरुङ पुरिएको स्थानमा ओर्लिन सक्ने अवस्था नै नरहेको दाबी गरे।
आठ आयोजना प्रभावित, विद्युत् सेवा पुनर्स्थापनाको प्रयास
प्रधानमन्त्री शाहका अनुसार बाढीले भोटेकोशी–त्रिशूली करिडोरमा सञ्चालनमा रहेका आठवटा जलविद्युत आयोजनामा असर पारेको छ। ती आयोजनाबाट कुल २८१ मेगावाट विद्युत् उत्पादन भइरहेको थियो।
त्यस्तै, निर्माणाधीन चारवटा आयोजना गरी थप ३८८ मेगावाट क्षमताका आयोजना प्रभावित भएको उनले जानकारी दिए। तीमध्ये केही आयोजनामात्रै मर्मत गर्न सकिने अवस्था रहेको र त्यसका लागि ठूलो लगानी आवश्यक पर्ने देखिएको उनको भनाइ छ।
बाढीका कारण कुल ४ हजार ३१ मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको प्रधानमन्त्री शाहले बताए।
उनका अनुसार नुवाकोटमा वैकल्पिक प्रसारण व्यवस्थामार्फत ८५ प्रतिशत क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन गरिएको छ। धादिङमा ९८ प्रतिशत र रसुवामा ४० प्रतिशत विद्युत् सेवा पुनर्स्थापना भइसकेको उनले जानकारी दिए।










