काठमाडौं । प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का संयोजक तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन शाहको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्रीले संसद्का सबै सांसदलाई विश्वासमा लिन नसकेको भन्दै आपत्ति जनाए।
प्रधानमन्त्री शाह संसद्मा आएर केही विषयमा ब्रिफिङ गरेर फर्किए पनि सबैलाई विश्वासमा लिनुपर्ने उनको भनाइ थियो।
‘सरकारको मुख्य नेतृत्व आज आउनुभयो, केही ब्रिफिङ गर्नुभयो, यस अर्थमा धन्यवाद भन्छु। तर अरूलाई पनि विश्वासमा लिनुपर्थ्यो। संसद्लाई विश्वासमा लिनु भनेको खाली प्रतिपक्षीलाई मात्रै होइन,’ प्रचण्डले भने।
उनले प्रधानमन्त्रीले आफ्नै सांसदलाई समेत विश्वासमा लिन पर्याप्त प्रयास नगरेको आरोप लगाए।
‘कार्यशैलीले के देखाउँछ भने आफ्नै सांसदलाई पनि विश्वासमा लिने मेहनत गरेको मैले चाहिँ देख्दिनँ। उहाँ आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ। यो के तरिका हो? यस्तो हुँदैन,’ उनले भने।
प्रधानमन्त्री सबैको साझा भएकाले संसद्मा रहेका सबै दल र सांसदसँग समन्वय गर्नुपर्ने प्रचण्डको भनाइ छ।
‘प्रधानमन्त्री त हामी सबैको हो। जतिबेला हामी सबैले सहयोग गर्छौं भनिरहेका छौँ। भन्दा भन्दै कसैको पनि अनुहार हेर्न नपर्ने के हो त्यो तरिका?’ उनले प्रश्न गरे।
‘प्रधानमन्त्रीलाई ठूलो अवसर छ, गुम्न दिनुहुँदैन’
प्रचण्डले प्रधानमन्त्री शाहले अहिले ठूलो अवसर पाएको भन्दै त्यसलाई गुम्न दिन नहुने बताए।
‘अहिलेको तरिकाले चाहिँ हुँदैन जस्तो लाग्छ। उहाँलाई अवसर प्राप्त छ। गुम्न दिनुहुँदैन,’ उनले भने।
देशले अहिले लामो भाषणभन्दा नेतृत्व खोजिरहेको उल्लेख गर्दै प्रचण्डले जनताले आश्वासन नभई सरकारको उपस्थिति चाहेको बताए।
‘राष्ट्रिय–अन्तर्राष्ट्रिय अनुभवसहित के भन्छु भने– यस्तो बेलामा गर्नुपर्ने संकल्प भनेको धेरै लामो भाषण होइन। नेतृत्व खोजेको छ देशले। जनताले आश्वासन खोजेका छैनन्। हरेक ठाउँमा सरकारको उपस्थिति खोजेका छन्,’ उनले भने।
उनले सामाजिक सञ्जालमा पोस्ट गरेर मात्रै संकट समाधान नहुने भन्दै प्रधानमन्त्रीमाथि व्यंग्यसमेत गरे।
‘सोसल मिडियामा पोस्ट हैन। सोसल मिडियामा पोस्ट गरेर तपाईंहरूले चुनाव त जित्नुभयो, तर यो संकट समाधान हुँदैन,’ प्रचण्डले भने।
‘सबैको एकता कायम राख्ने जिम्मेवारी प्रधानमन्त्रीको’
देश अहिले संकटमा रहेकाले राष्ट्रिय एकता आवश्यक रहेको प्रचण्डले बताए। संकटका बेला राज्यको उपस्थिति र विपत्तिमा राष्ट्र एकजुट भएको देखिनुपर्ने उनको भनाइ छ।
‘संकटमा राज्य देखियोस्, विपत्तिमा राष्ट्र एकजुट देखियोस्। एकजुट त मैले पारेर हुँदैन। हिजो त हुने जमाना थियो। अहिले अर्को जमाना आएको छ तपाईंहरूको,’ उनले भने।
प्रधानमन्त्री शाह आफूहरूको पनि प्रधानमन्त्री भएकाले सबैको विश्वास जितेर अघि बढ्नुपर्ने प्रचण्डले बताए।
‘तपाईंहरूको नेता प्रधानमन्त्री हाम्रो पनि प्रधानमन्त्री हो। उहाँले गम्भीर भएर सबैको विश्वास जित्न सक्नु भएन भने समयले नपर्खिन सक्छ उहाँलाई पनि। यति ध्यान रहोस्,’ उनले चेतावनी दिए।










