काठमाडौं , २८ मंसिर । चलचित्र विकास बोर्डले ‘नुमाफुङ’सहित १० फिल्म डिजिटाइजेशन गर्ने भएको छ।
बोर्डका अध्यक्ष दिनेश डिसीले ‘वसन्ती’, ‘बलिदान’, ‘दक्षिणा’, ‘बसाइँ’, ‘वीर गणेशमान’लगायतका फिल्म आगामी पुस्तासम्म पुर्याउन हालको प्रविधिमा रुपान्तरण गरी ‘अर्काइभ’ गरिने बताए।
“हामीले दर्शकले रुचाउनुका साथै विभिन्न कालखण्डलाई दर्शाउने फिल्मलाई पुरानो प्रविधिबाट रुपान्तरण गरेर नयाँ प्रविधिमा ढाल्न चाहेका छौँ। यसको काम केही समयमा सुरू हुनेछ। यी फिल्मलाई बोर्डको विशेष समारोहमासमेत देखाइने छ”, उनले भने।
यसअगाडि बोर्डले ‘सेल्युलाइड’ प्रविधिमा रहेको महत्वपूर्ण चलचित्र ‘आमा’, ‘के घर के डेरा’, ‘बदलिँदो आकाश’, ‘जीवनरेखा’, ‘सिन्दूर’, ‘कुमारी’, ‘मनको बाँध’, ‘परिवर्तन’, ‘हिजोआज भोलि’ र ‘शान्तिदीप’लाई डिजिटाइज गरिसकेको जनाएको छ। साथै ती फिल्ममा अङ्ग्रेजी भाषामा सबटाइटल पनि गरिएको छ।
रिस्टोरेसन गर्दा रिल कोरिएको, प्वाल परेको, टाँसिएकोलगायत ड्यामेजलाई हरेक दृश्यमा काम गरेर नयाँ जस्तै बनाइने र त्यसलाई डिजिटल प्रविधिमा ल्याएपछि सङ्ग्रहित गरिने बोर्डले जनाएको छ।
पहिलो चरणमा तत्कालीन शाही नेपाली चलचित्र संस्थान र सूचना मन्त्रालयको लगानीमा बनेका फिल्मलाई ‘डिजिटाइजेशन’ गरिएको छ।
‘डिजिटाइजेसन’ पश्चात १६ एमएम र ३५ एमएमका ती फिल्मलाई ‘टु के’ र ‘फोर के’ ढाँचामा हेर्न सकिने बताइएको छ।











