पाठेघरको मुखको क्यान्सर रोकथामका लागि फागुन महिनाभर परीक्षण हुने

खबर बुक
  • ख-
  • ख+

 काठमाडौं, मंसिर १८ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न दुई लाख ५० हजार महिलाको परीक्षण तथा रोग पहिचान गर्ने भएको छ ।

मन्त्रालयअन्तर्गत परिवार स्वास्थ्य कल्याण महाशाखाले देशभरका ३० देखि ४९ वर्षसम्मका महिलामा पाठेघरको मुखको क्यान्सर भए/नभएको परीक्षण गर्ने भएको हो । फागुन महिनाभर देशैभर एकै साथ महिलामा क्यान्सरसम्बन्धी परीक्षण गर्न लागिएको महाशाखा प्रमुख डा.विवेककुमार लालले जानकारी दिए ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार अहिले नेपालमा हरेक दिन चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान जाने गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले गएको साउन २७ गते सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा महिलामा हुने पाठेघर तथा स्तनसम्बन्धी क्यान्सर रोकथामका लागि देशैभर अभियानका रुपमा स्क्रिनिङ थाल्ने उल्लेख थियो ।

यहीअनुसार मन्त्रालयले पाठेघर तथा स्तनको क्यान्सर नियन्त्रणलाई प्राथमिकता दिएर यस वर्ष कार्यक्रम अघि बढाएको छ ।

मन्त्रालयले आउने माघ २२ गतेदेखि दुई हप्तासम्म १६ लाख किशोरीलाई पाठेघरको क्यान्सर विरुद्धको निःशुल्क खोप अभियान सञ्चालन गर्दैछ । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्