
काठमाडौं । लोकदोहोरी गायक बद्री पंगेनीको नयाँ गीत ‘कन्या राशि’ सार्वजनिक भएको छ । गीतमा बद्रीलाई गायिका समीक्षा अधिकारीले साथ दिएकी छन् ।
गायक पंगेनीले गीत मार्फत धार्मिक र सामाजिक भ्रातृत्व र सहिष्णुताको सन्देश दिने प्रयत्न गरेका छन् ।
१६ मिनेट लामो यो गीत कुनै म्युजिक भिडियो भन्दा पनि ‘म्युजिकल फिल्म’ बढी हो जहाँ कथानक फिल्म निर्माणका लागि आवश्यक सबै आधारभूत व्याकरणीय तत्व मिसाइएको छ ।
यो म्युजिकल फिल्ममा हिन्दु युवती र मुसलमान युवकबीचको प्रेम सम्बन्ध र हार्दिकतालाई प्रस्तुत गरिएको छ । आफ्ना गीतहरुमा सामाजिक यथार्थ र सन्देश समेट्दै आएका पंगेनीको नयाँ गीत पनि त्यसकै एक श्रृंखला हो ।
यो म्युजिक फिल्म मार्फत पंगेनीकी छोरी बिहानीले अभिनयमा डेब्यु गरेकी छन् । भिडियोको निर्देशन बद्री पंगेनी स्वयंले गरेका छन् ।
नारायण ज्ञवालीको शब्द रहेको गीतमा प्रशान्त मगरको नृत्य निर्देशन र भिडियोमा प्रभात पल ठकुरी, बिहानी पंगेनी, अशोक पंगेनी, हमिद मियाँ, भवानी पंगेनी, श्याम पटेलले अभिनय गरेका छन् ।