काठमाडौँ, भदाै २८ । चर्चित लोक तथा दोहोरी गायक एवं राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका कोषाध्यक्ष तथा सञ्चारकर्मी अमृत अधिकारीको नयाँ गीत“मनको शान्ति” बजारमा आएको छ ।
अधिकारीले सामाजिक पिर वेदना समेटिएको“मनको शान्ति” बोलको गीत बजारमा ल्याउनुभएको हो ।
“दाइको ससुराली गाउँ” बोलको गीतले सफलता पाएको झन्डै २ दशकपछि अधिकारीले लोकप्रिय गायक रामचन्द्र चन्दसँगको सहकार्यमा सामाजिक घटना तथा परिघटना समेटेर तयार पारिएको मनको शान्ति बोलको गीतलाई भिडियोमार्फत प्रस्तुत गर्नुभएको छ ।
गीतमा दैनिक जीवनयापनका क्रममा मनमा उत्पन्न हुने समस्या, तनाव र पिरलाइ कसरी शान्ति दिलाउने भन्ने कुरा विशेष रूपमा उठाइएको अधिकारीले बताउनुभएको छ । यससँगै गीतमा पछिल्लो समय समाजमा व्याप्त आर्थिक मन्दीको प्रभाव, सहकारी संस्थाले बचतकर्ताको रकम हिनामिना गरिदिएपछि पीडित बनेका सर्वसाधारणको वेदनादेखि एकल महिला र वृद्धाश्रममा जान बाध्य वृद्धवृद्धाहरुको समस्यासँगै आम जनतामा उत्पन्न विक्षिप्ततालाई टपक्कै टिपेर गीतमा उतारिएको छ ।
‘धनले किन्न पाउने भा धन हालेर किन्थे, शान्ति खोज्दै बुद्ध किन महल छोडी हिन्थे’ जस्ता मार्मिक शब्दहरू समेटिएको उक्त गीतको भिडियोमा कार्यालयमा उत्पन्न बढ्दो तनाव र घट्दो सेयर बजारले थपेको प्रेसर सँगसँगै आर्थिक असहजताले पारिवारिक झमेलाले ग्रसित पुरुषको व्यथा चर्चित मोडल विमल अधिकारीको अभिनयमार्फत उतारिएको छ भने दिनभर मकै पोलेर परिवारको गर्जो टारेकी महिलाले आफूले खाए नखाई गरेर सहकारीमा बचत गरेको रकम सहकारी संस्था नै बचत हिनामिना गरेर भागेपछि पीडित बनेकी महिलाको कथा पनि भिडियोमा देख्न सकिन्छ ।
यो गीतमा पछिल्लो समयकी चर्चित तथा लोकप्रिय गायिका शान्ति श्री परियार र रामचन्द्र चन्द तथा सुनिता बुढा क्षत्रीले स्वर रहेको छ भने विक्रम बाबु विश्वकर्माको शब्द र निन्दु परियारको लयमा गीत तयार पारिएको छ ।
भिडियोमा पछिल्लो समयका चर्चित गीतहरूमा निर्देशन गर्नुभएका निर्देशक मौसम हिमालीको निर्देशन गनुसँगै गायक अधिकारी, मोडल बिमल अधिकारी, वरिष्ठ कलाकार रामचन्द्र अधिकारी, जुना गुरुङ्ग, यशु भट्टराईलगायतको अभिनय देख्न सकिन्छ । गीतले सिङ्गो देशमा कायम विद्यमान समस्या उजागर गरेकोले आम दर्शक श्रोताको मन मुटुमा बस्न सफल हुने विश्वास लिइएको गायक अधिकारीले बताउनुभएको छ । उक्त “मनको शान्ति” बोलको गीत अमृत अधिकारीको आधिकारिक युटुव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
गित यहाँ हेर्नुहाेस :











