महोत्तरी, २५ असोज । महोत्तरी-१ मा गठबन्धनबाटै दुई जनाकाे उम्मेदवारी परेकाे छ । क्षेत्र नम्बर १ ‘क’ मा गठबन्धनभित्रकाे नेकपा एसबाट सुरेश राउत र लोसपाका पितम्बर महतोले उम्मेदवारी दर्ता गरेका हुन् ।
दुवै उम्मेदवारले आफुहरू गठबन्धनको साझा उम्मेदवार दाबी गरेका छन् । तर, गठबन्धनले भने आधिकारिक उम्मेदवार काे हाे भनेर निर्णय गरिसकेकाे छैन । गठबन्धनका वरिष्ठ नेता सरतसिंह भण्डारीले भनेर नै उम्मेदवारी दर्ता गराएको महतोको दाबी छ भने राउतले पनि अध्यक्षको निर्देशन मानेको बताउदै आएका छन् ।
निर्णयानुसार महोत्तरी क्षेत्र १ ‘क’ कांग्रेस र ‘ख’ मा माओवादीले पाउने तय भएको थियो । तर, लोसपाको उम्मेदवार नै साझा उम्मेदवार भएको बताउँदै एकाएक महतोले टिकट पाएको हल्ला चलेपछि नेकपा एसका राउतले पनि मनोनयन दर्ता गराएका थिए ।
अहिले नेकपा एसका राउत वा लोसपाका महतोमध्ये कसलाई ब्याक गराउने भन्ने विषयमा छलफल भैइरहेको गठबन्धनका नेताहरूले जानकारी दिए ।
नेता राउतले भने अध्यक्ष माधव नेपालले भनेर नै टिकट ल्याएर मनोनयन दर्ता गरेको हुनाले ब्याक नहुने बताएका छन् । मतदाताको हिसाबले हो भने ‘क’ कांग्रेसले पाउनु पर्ने हो । तर, उनीहरूले नपाएपछि नेकपा एस नै यसकाे प्रमुख दावेदार भएको उनकाे बुझाइ छ ।
गठबन्धनभित्रैका नेता राजन ढुंगानाले पनि स्वतन्त्र उम्मेदवार दर्ता गरेका छन् । क्षेत्र नम्बर १ मा गठबन्धनभित्रै विवाद सिर्जना भएपछि कसरी मिलाउने भन्ने विषयमा शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।
क्षेत्र नम्बर १ ख मा पनि गठबन्धनविरुद्ध गठबन्धनभित्रैका नेताहरूले बागी उम्मेदवार दिएका छन् ।