काठमाडौं, २० मंसिर ।रौतहट सँग जोडिएको साना नाकाहरुमा तैनाथ भारतीय सुरक्षाकर्मी एसएसबिको ज्यादतीको कारण दुई देशबीच सदियौं देखि चलेको बेटी रोटीको सम्बन्ध प्रभावित भईरहेको छ।
एसएसबीले सदियौं देखि चलिआएको व्यवहारको वास्ता नगरी बिभिन्न बहानामा सीमाक्षेत्रमा आवतजावत गर्ने नेपालीलाई अनावश्यक दुःख दिने गरेको कारण बेटी रोटीको सम्बन्ध प्रभावित बनेको हो।
पछिल्लो समय भारतीय सुरक्षाकर्मीले सीमाक्षेत्रमा आवतजावत गर्ने नेपालीलाई रोकेर पहिचान खुल्ने कागज देखाउन भन्दै दुःख दिरहेका छन भने नेपाली नम्बरको मोटरसाइकलमा समेत कडाई गरेको छ। भनसुन गरेपछि ढीलो गरी मोटरसाइकल जेनतेन जान दिएपनि गौर बैरगनिया नाका बाहेक ससाना नाका बाट चारचक्के गाडी आउजाउमा पूर्णरूपमा रोक लगाउँदा सीमाक्षेत्रमा बसोबास गर्ने हजारौँ नेपालीलाई शास्ती खेप्नु परेको छ।
भारतीय सीमामा संग जोडिएको नेपाली गाउँका मानिसहरूको सम्पूर्ण ब्यवहार भारतसँग जोडिएको हुन्छ। उनीहरूको प्रायः सम्पूर्ण नातागोता आफन्त, भारतमै रहेका छन भने अधिकांशले छोरा छोरीको बिहेवारी पनि भारत मै गर्ने गरेको पाईन्छ।
सीमावर्ती ईशनाथ नगरपालिका–६ घिउरा गाउँका रामाज्ञा ठाकुर लोहारको एकाछोरा र दुइछोरीको बिहे सीमापारी भारतीय गाउँमै गरेका छन। त्यस्तै उनकै टोलका चन्द्रिका दुबेले पनि पाँच छोरा छोरी मध्ये तीन चारजनाको बिहेवारी भारतीय गाउँमै गरेका छन।
यी दुईजना उदाहरण मात्र हुन्। रौतहटको सीमावर्ती बौधिमाई, ईशनाथ, राजपुर, परोहा, गौर, राजदेवी नगरपालिकाको हजारौँ परिवारको छोरा छोरीको वारिपारी बिहेवारी भएको छ।
नेकपा माओवादी ईशनाथ नगर कमिटी सदस्य रामाज्ञा ठाकुरका अनुसार रौतहट स्थित २८ किलोमिटर लामो भारतीय सिमाना संग जोडिएको नेपाली गाउँका प्रायः सबै मानिस भारतीय बजार माथिनै निर्भर रहेका छन।
घरको लागि दैनिक उपभोग्य वस्तु, कपडा, देखि खेती किसानको लागि चाहिने बीउ, मलखाद लागायतका सामग्री भारतीय बजारबाट नै ल्याउने गर्दछन्।
जिल्ला सदरमुकाम गौर २०–३० किलोमिटर टाढा र सीमापारी भारतीय बजार कुण्डवा चैनपुर, घोडासहन ५ किलोमिटर भित्रै परेकाले पनि यहाँका मानिसको घर परिवारमा कसैलाई कुनै बिरामी हुँदा समेत उपचारको लागि भारतीय डाक्टर माथि निर्भर रहेको समाजसेवी ठाकुरले बताएका छन।
वारिपारी बिच हजारौँ परिवारको सम्बन्ध भएकाले दैनिकजसो दर्जनौं छोरी बुहारी वारिपारी गर्नुपर्ने चलन रहर र बाध्यता रहेको छ। सीमावर्ती नेपाली हजारौं परिवारको यो दैनिकी चलिनै आएको थियो। यस्तो चलन र दैनिकी रौतहटको मात्र नभई नेपालको तराई मधेश र भारतको बिहार उत्तरप्रदेश बीच सदियौं देखि रोटीबेटीको सम्बन्ध रहेको छ।











