उत्तराखण्डको सुरुङमा थुनिएका ४० मजदुरको उद्धार कार्य जारी

खबर बुक
  • ख-
  • ख+

उत्तराखण्डमा निर्माणाधीन सुरुङमा पहिरो गएपछि फसेका मजदुरलाई निकाल्ने प्रयास भइरहेको अधिकारीहरूले जनाएका छन् ।

उत्तराखण्डको उत्तरकाशीमा आइतबार निर्माणाधीन सुरुङ पहिरो गएपछि ४० जना मजदुर थुनिएका थिए ।

भारतीय समाचार संस्था पीटीआईका अनुसार मजदुरहरू निकाल्न ड्रिलिङ मेसिनको सहायता लिइएको छ । राष्ट्रिय राजमार्ग एवं अवसंरचना विकास निगम लिमिटेडका निर्देशक अंशु मनीष खाल्कोका अनुसार भित्र थुनिएका मजदुर सुरक्षित अवस्थामा रहेका छन् ।

माथिबाट पहिरो खस्दा करिब ६० मिटर जति सुरुङ थुनिएको थियो । जसमध्ये २० मिटर सफा गरिसकेको र बाँकी आजै सकिने उत्तरकाशीका एसपी अर्पण यदुवंशीले जनाएका छन् । पाइपमार्फत मजदुरहरूलाई खाना र पानी पठाइएको उनले बताए ।

थुनिएका मजदुरहरू उत्तर प्रदेश, बिहार र झारखण्डका रहेका छन् । उनीहरू सुरुङको मुखबाट दुई सय मिटरभित्र छन् । त्यस क्षेत्रमा प्रशस्तै नेपाली कामदारहरू पनि कामका लागि पुग्ने गरेका छन् । सुरुङभित्र कोही पनि नेपाली नपरेको जनाएका छन् ।

यमुनोत्री राष्ट्रिय राजमार्गमा उक्त सुरुङ मार्गको निर्माण हुँदै थियो । ४ किलोमिटर लामो र १४ मिटर चौडाइको निर्माणाधीन सुरुङमा एक्कासि बाहिरिने मार्ग नै थुनिन पुगेको हो । चारधाम सडक परियोजनाअन्तर्गत सबै मौसममा सवारी साधन सञ्चालन राख्ने उद्देश्यले सुरुङको निर्माण थालिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्