असोज २०, काठमाडौं । हाल नेपालमा दक्षिण(पश्चिम बंगालको खाडी र आन्द्र प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।
आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो प्रदेश १, मधेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा सामान्य देखि पूर्ण बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही, गण्डकी प्रदेशका थोरै, बागमती, मधेश प्रदेश र प्रदेश नं १ का एक दुई स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
यसैगरी राति गण्डकी, लुम्बिनी, प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै र बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै साथै गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै, वर्षा भइरहेका ठाउँका खोला नाला तथा नदीमा बाढीको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।