कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ८६, विपक्षमा ५ मत

खबर बुक
  • ख-
  • ख+

विराटनगर, १ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् ।

संविधानको धारा १६८ को उपधारा (५) अनुसार नियुक्त कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका हुन्।

कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ८६ र विपक्षमा ५ मत प्राप्त भएको हो । एक जना भने अनुपस्थित रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री कार्कीलाई एमालेका ३९, कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी) का ४ र जसपाको १ सांसदले विश्वासको मत दिएका हुन् । राप्रपाका एक सांसद भने अनुपस्थित रहेका हुन् । कार्की कोशी प्रदेशको दोस्रो प्रदेशसभाको तेस्रो (पाँचौं पटकको मुख्यमन्त्री) मुख्यमन्त्री हुन् ।

उनी गत शनिबार नियुक्त भएका हुन् । एमालेका ३९ र कांग्रेसका विद्रोही ८ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री भएका हुन् । यद्यपि गठबन्धन दलले पनि उनलाई समर्थन गर्दै विश्वासको मत दिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्