आदिवासी जनजातिको पहिचान र अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री आचार्य

खबर बुक
  • ख-
  • ख+

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आदिवासी जनजाति समुदायको मौलिक पहिचान, भाषा, संस्कृति, परम्परा, ज्ञान र सीपको संरक्षणसँगै आर्थिक तथा सामाजिक सशक्तीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।

विश्व आदिवासी दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विविधताले सम्पन्न लुम्बिनी प्रदेशको समृद्धिमा आदिवासी जनजाति समुदायको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गरेका छन्।

उनले विभिन्न आदिवासी जनजाति समुदायले पुस्तौँदेखि आफ्ना मौलिक भाषा, संस्कृति, संस्कार, परम्परा, कला, साहित्य, ज्ञान, सीप र जीवनपद्धतिको संरक्षण गर्दै प्रदेशको सामाजिक तथा सांस्कृतिक पहिचानलाई समृद्ध बनाउँदै आएको बताए ।

थारू, मगर, गुरुङ, नेवारलगायत आदिवासी जनजाति समुदायको मौलिक संस्कृति र परम्परा लुम्बिनी प्रदेशको महत्त्वपूर्ण सांस्कृतिक सम्पदा भएको भनाइ छ ।

मुख्यमन्त्री आचार्यले नेपालको संविधानले समानता, सामाजिक न्याय, समावेशिता, सहभागिता तथा सांस्कृतिक अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै संविधानको मर्मअनुसार सबै जातजाति, भाषा, धर्म, समुदाय र संस्कृतिको समान सम्मान, पहिचान र अधिकारको संरक्षण गर्नु प्रदेश सरकारको दायित्व भएको बताए।

लुम्बिनी प्रदेश सरकार समावेशी लोकतन्त्र, सामाजिक न्याय र समान अवसरको सुनिश्चिततामार्फत प्रदेशको समग्र विकास गर्ने दिशामा अघि बढिरहेको बताए ।

विकासको प्रतिफल समाजका सबै वर्ग, समुदाय र भूगोलसम्म समान रूपमा पुग्नुपर्ने मान्यताका साथ नीति, योजना तथा कार्यक्रम निर्माण र कार्यान्वयनमा विविध समुदायको अर्थपूर्ण सहभागितालाई प्राथमिकता दिइएको छ।

आदिवासी जनजाति समुदायसँग रहेको परम्परागत ज्ञान, सीप, प्रविधि, भाषा, कला, संस्कृति र जीवनपद्धति अमूल्य सम्पत्ति भएको बताउँदै मुख्यमन्त्री आचार्यले आधुनिक विकाससँगै मौलिक पहिचान र सांस्कृतिक सम्पदाको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्