सरकारले सुन तस्करी छानबिन गर्न नचाहेको एमाले अध्यक्ष ओलीको आरोप

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ८ असोज । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुन तस्करी छानबिन गर्न नचाहेको आरोप लगाउनुभएको छ ।

सुन तस्करी छानबिनका लागि आयोग गठन गर्न सरकारलाई आफ्नो पार्टीले बाध्य पारेपनि सो आयोगमार्फत छानबिन गर्न भने नमानेको ओलीको जिकिर थियो । सोमवार काठमाडौंमा आयोजित पार्टीको वागमती प्रदेश कमिटीको प्रथम अधिवेशनको उद्घाटन समारोहमा बोल्दै उहाँले सरकारले आयोगलाई सुन तस्करी छानबिन नभई तस्करी हुन नदिने गरी कानून निर्माण गर्नका लागि सुझाव दिनुपर्ने जिद्दी गरिरहेको बताउनु भयो ।

अध्यक्ष ओलीले सरकार सुन तस्करहरुलाई भगाउनका लागि सो आयोग एक महिनापछि मात्रै बनाउन सहमत भएको समेत बताउनु भयो । उहाँले आफ्नो पार्टीले पछिल्लो समय भएका सबै सुन तस्करीको कुनै पनि दिन छानबिन गराएरै छाडने चेतावनी समेत दिनुभयो ।

अध्यक्ष ओलीले भ्रष्टाचारका सबै फाईल खोल्न पनि सरकारलाई चुनौति दिनुभयो । भ्रष्टाचारका फाईल खोले जेल पर्ने सत्तारुढ दलकै नेताहरु भएको ओलीले बताउनु भयो । अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको आवाज संसदमा उठ्न नदिनका लागि संसद लामो समयसम्म स्थगित गर्न ठाडो आदेश दिएको पनि बताउनु भयो ।

उहाँले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दृष्टान्त पेश गर्दै विदेश भ्रमणमा जाँदा किन संसद बैठक स्थगित गर्नुपरेको ? भनि प्रधानमन्त्री दाहाललाई प्रश्न समेत गर्नुभयो ।

अध्यक्ष ओलीले सरकार निकम्मा भएको भन्दै उसलाई सुझाव दिनुको कुनै अर्थ नरहेको पनि दोहो¥याउनु भयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्