तत्काल तेस्रो संविधानसभा निर्वाचन गर्न रक्षक सभाको माग

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज ४ ।  रक्षक सभाले २०७२ को संविधानलाई अस्वीकार गर्दै तेस्रो संविधान सभा निर्वाचनको माग गरेको छ। संविधान दिवसको दिन बुधबार एक विज्ञप्ति जारी गर्दै सभाले यस्तो माग गरेको हो ।
स्वतन्त्र बुद्धिजीवी तथा आम नागरिक (समाज) को समानान्तर सरकार निर्माण गरी तेस्रो संविधान सभाको निर्वाचन गर्नुपर्ने सभाको माग रहेको छ । यसका लागि उसले स्वतन्त्र बुद्धिजीवीहरूको छनौट गरी तत्काल २ सय ५ सदस्यीय संसद तत्काल खडा गर्न पनि माग गरेको छ । आफ्नो माग पुरा गर्न बन्द, हड्ताल जस्ता नागरिकहरूलाई दु:ख दिने काम भने नगर्न सभाले सबैलाई सचेत गराएको छ ।
यसका लागि उसले आ-आफ्नो विवेक र क्षमता प्रयोग गर्न सुझाउनुका साथै वर्तमान व्यवस्थाका सबै संरचनालाई संम्भव भएसम्म असहयोग गर्न पनि आह्वान गरेको छ। राजकीय बेथिती, अनुत्तरदायित्व र लक्ष्यहीनताबाट आजित आमनागरिकले एक सुगम निर्माणका निम्ति चालेको पहिलो पाईलाको नाम नै रक्षक सभा भएकाले मुलुकलाई सहि मार्गमा डोर्याउन आफुहरूले यस्ता माग अघि सारेको सभाका सहजकर्ता डम्बर साहुको भनाई छ।
वर्तमान संविधान लागु भएपछाडी गत मङ्सिर ४ मा सम्पन्न भएको दोस्रो आम निर्वाचनले १ वर्ष टेक्दै गर्दा मङ्सिर १ देखी ७ सम्म स्वतन्त्र बुद्धिजीवीहरूको भेला गरी राष्ट्रिय सम्मेलन गर्ने पनि सभाले घोषणा गरेको छ।
अहिलेको संविधान र राज्यसत्ताको वागडोर समालिरहेको दलहरूबाट मुलुक दिनानुदिन कमजोर हुदै गएको निष्कर्ष निकाल्दै सभाले आफुहरूले मुलुकलाई नयाँ दिशा दिन यस्तो माग गरिएको उसले जिकिर गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्