अमेरिका भ्रमणका बारे राष्ट्रपतिलाई गराए प्रधानमन्त्रीले जानकारी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३० भदौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले अमेरिका भ्रमण शुरु गर्नुअघि राष्ट्रपति भवन शीतल निवासमा गएर राष्ट्रपति पौडेलसँग भेट गर्नुभएको हो ।

भेटमा प्रधानमन्त्री प्रचण्डले अमेरिकाको न्युयोर्कमा हुने आसन्न संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन आज बेलुका न्युयोर्क प्रस्थान गर्नुहुने भएको छ । प्रधानमन्त्री प्रचण्डले आउँदो असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि आउँदो आसोज २ गते अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुहुने स्वागत समारोहमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुनुहुनेछ । न्युयोर्कमा रहँदा प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसङ्घको दिगो विकास र जलवायुसम्बन्धी शिखर सम्मेलनलगायत कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

उहाँले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता गर्नुका साथै विभिन्न देशका आफ्ना समकक्षीसँग भेट गर्नुहुने मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल र मन्त्रालयका अधिकारी हुनुहुन्छ । उहाँ अमेरिकाबाटै चीन जाने कार्यक्रम छ ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्