काठमाडौं, २६ भदौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ ।
आफ्नै निवासमा १ बजे राति अचानक हृदयघात भएपछि उहाँलाई महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको थियो । अस्पताल पुग्नासाथ उहाँलाई मृत घोषित गरिएको थियो ।
उपाध्यक्ष नेम्वाङको निधन लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगाएत राजनैतिक दलका नेताहरु शिक्षण अस्पताल पुगेका छन् । नेम्वाङको शव श्रद्धाञ्जलीका लागि बुधबार सम्म पार्टी कार्यालयमा राखिने बताइएको छ ।
इलाम क्षेत्र नं २ बाट निर्वाचित नेम्वाङ २००९ फागुन २८ गते इलाममा जन्मनु भएको थियो । उहाँ इलाम २ बाट २०५६ सालदेखि संसदीय चुनावमा निरन्तर विजयी हुँदै आउनु भएको थियो । २०४८ सालदेखि २०५२ सालसम्म उहाँ राष्ट्रिय सभाका सांसद बन्नु भएको थियो ।
२०६३ सालमा पहिलोपटक सभामुख बन्नुभएका नेम्वाङ अन्तरिम संसदमा समेत सभामुख बन्नु भएको थियो । पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष र सभामुख बन्नुभएका नेम्वाङकै कार्यकालमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो ।
यस्तै, राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको असामयिक निधनमा समवेदना व्यक्त गर्नुर्भको छ ।
राष्ट्रपति पौडेल संविधानसभा अध्यक्ष नेम्वाङको निधनले आफू मर्माहत र स्तब्ध भएको बताउनु भएको छ ।
नेम्वाङको अप्रत्यासित निधनप्रति दुख व्यक्त गर्दै पौडेलले शोकाकुल परिवारलगायतमा समवेदना प्रकट गर्नुभएको छ ।
यस्तै, प्रधानमन्त्री प्रचण्डले पनि नेम्वाङको निधनबाट मर्माहत भएको बताउनु भएको छ ।
नेम्वाङको निधनको खबरलगत्तै सामाजिक संजालमा लेख्दै प्रधानमन्त्री दाहालले शोककाकुल परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।










