भारतले पठाएको चन्द्रयान–३ आज बेलुका चन्द्रमामा अवतरण गर्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौ, ६ भदौ । भारतले अन्तरिक्षमा पठाएको चन्द्रयान–३ आज बेलुका ६ बजेर ४ मिनेटमा चन्द्रमामा अवतरण गर्ने भएको छ ।

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले चन्द्रयान–३ आज बेलुका अवतरण हुने जनाएको छ। सकुशल अवतरण भएमा चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने पहिलो यान बन्नेछ ।

चन्द्रमाको दक्षिणी ध्रुवमै अवतरण गर्ने क्रममा रहेको रुसी यान लुना–२५ आइतवार दुर्घटनामा परेपछि चन्द्रयान–३ लाई पहिलो हुने अवसर छ ।

चन्द्रमाको दक्षिणी ध्रुवमा बरफ र महत्त्वपूर्ण तत्त्वहरू हुनसक्ने वैज्ञानिकहरूले अपेक्षा गरेका छन् । यदि त्यहाँ पानी वा बरफ भएमा भविष्यमा चन्द्रमामा मानव बस्ती बसाल्न सकिने सम्भावना रहने वैज्ञानिकहरूको भनाइ छ ।

यसअघि अमेरिका, रुस र चीनले मात्रै उपकरण चन्द्रमामा अवतरण गराउन सफल भएका छन् । भारतको यान सफलतापूर्वक चन्द्रमामा अवतरण भएमा भारत चौथो देश बन्नेछ ।

चार वर्षअघि चन्द्रयान–२ चन्द्रमामा अवतरण गर्ने क्रममा दुर्घटना भएपछि त्यसलाई थप परिष्कृत गर्दै भारतले चन्द्रयान–३ बनाएको हो ।

भारतले चन्द्रमा मिसनका लागि गएको जुलाई १४ मा अन्तरिक्ष यान पठाएको हो ।

इसरोले चन्द्रयान अवतरणको अन्तिम तयारीमा रहेको बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्