काठमाडौं, असोज ४
ट्राफिक प्रहरीले चाडपर्वमा लामो दुरीका सवारीसाधनलाई लक्षित गरी उपत्यकाका सबै नाकामा विशेष जाँच गर्ने भएको छ । ट्राफिक प्रहरीले चाडपर्वका अवसरमा उपत्यकाका विभिन्न ३५ स्थानमा नियमित जाँच, मापसे जाँच, सादा पोसाकमा ट्राफिक प्रहरी परिचालन गरिने भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चाडपर्वको अवसरमा सवारी साधनबाट हुनसक्ने ठगिबाट जोगाउन र यात्रुलाई सहजै गन्तव्य स्थलसम्म पुग्ने वातावरण बनाउन नाकाहरूमा विशेष सुरक्षा जाचँको व्यवस्था गर्न लागेको जनाएको छ । थानकोट, नागढुङ्गा, जगाति, फर्पिङ, बाइपास, बालाजु लगायतका स्थानमा लामो दुरीका सवारीसाधनलाई विशेष जाँचको व्यवस्था गरिएको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । ट्राफिक प्रहरीले छतमा यात्रु तथा मालसामान राख्न नदिने, क्षमताभन्दा बढी यात्रु राख्न नदिने, सवारीसाधनको अवस्था जाँच गर्ने, यात्रुले अपनाउनुपर्ने सुरक्षा सावधानीबारे जानकारी गराउने भएको हो ।
यस्तै, चालकको अवस्था जाँच गर्ने, सुरक्षा सचेतना सम्बन्धी कार्यक्रम गर्ने, बढी भाडा लिने गाडीलाई कारबाही गर्ने, लागुपदार्थ सेवन जाँच गर्ने भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष समेत स्थापना गर्ने भएको छ।