काठमाडौं, फागुन २१ । सरकारले मुस्ताङमा विश्वविद्यालय खोल्ने कुनै निर्णय नगरेको स्पष्टीकरण दिएको छ ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विज्ञप्ति निकालेर पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाइ भन्दै केही सञ्चारमाध्यममा आएको मुस्ताङमा विश्वविद्यालय खुल्ने कुरा सत्य नभएको बताउनुभएको हो । विज्ञप्तिमा विश्वविद्यालय स्थापना गर्न थालेको भन्ने अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण रहेको उल्लेख छ ।
हिजो शनिवार एमाले अध्यक्ष ओलीले चीनलाई लक्षित गरी मुस्ताङमा भारतको सहयोगमा बौद्ध विश्वविद्यालय खोल्न लागिएको बताउनुभएको थियो । विज्ञप्तिमा मन्त्री शर्माले मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले कलेज स्थापनाका लागि भारतीय दूतावासमा पत्र लेखेको जानकारी सार्वजनिक भएको र त्यसबारेमा छानबिन गरिने बताउनुभएको छ ।
विज्ञप्तीमा परराष्ट्र नीतिमाथि आँच पुर्याउने गरी अभिव्यक्ति आएको भन्दै सरकारले दुःख व्यक्त गरेको छ ।






