काठमाडौं, माघ १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष परिस्थितिबाहेक सिंहदरबारबाटै काम गर्ने बताएका छन् ।
मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री कार्यालय मातहतका निकाय र कार्यालयहरूको बैठकमा प्रधानमन्त्री प्रचण्डले विगतमा सिंहदरबार भन्दा बाहिरबाट शासन चलाउने गल्ती आफूले नगर्ने बताएका छन् ।
सिंहदरबारबाटै काम गर्नुको विशेष अर्थ रहने भन्दै प्रचण्डले प्रधानमन्त्रीले सिंहदरबारबाट काम गर्दा राज्यका सबै अंगहरूको एकीकृत परिचालन हुन सक्ने बताए । प्रधानमन्त्री प्रचण्डले कर्मचारी संयन्त्रमा दण्ड र पुरस्कारको व्यवस्थालाई प्रभावकारी रूपमा लागू गरिने पनि बताए । उनले ‘निर्णय प्रक्रियालाई सरल बनाउन र छिटो छरितो कार्यसम्पादन गर्न पनि कर्मचारीहरुलाई निर्देशन दिए ।











